STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टी–२० आई शृङ्खला: नेपाल नामिबियासँग २० रनले पराजित

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १५, मंगलबार

काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा २०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपाल १८.५ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ४२ रन बनाए। कुशल मल्लले ३२ तथा सोमपाल कामीले २६ रन बनाए।  

नामिबियाविरुद्ध जवाफी ब्याटिङ थाल्दा नेपालले सुरुवातमै २ विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल शून्य र आसिफ शेख ६ रनमा आउट भएका थिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो। लोफ्टी इटनले १०१ रन बनाए। त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन्।

मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए। लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का प्रहार गरे। 

नामिबियाका मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए।

नामिबियाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए। करण केसी र अविनाश बोहोराले १–१ विकेट लिए।

Categorized in खेलकुद