टोखाका दुईजनासहित ७२ जनामा संक्रमण पुष्टि, मृत्यु भइसकेकाेमा पनि काेराेना
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १२, सोमबार
काठमाडौं – नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुईजना टोखाका हुन् ।
टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दुई जनाको पोजेटिभ आएको छ ।
बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका(३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।
बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
मृत्यु भइसकेकोमा पनि कोरोना संक्रमण
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल स्रोतले जनाएको छ ।
वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।
अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।
Categorized in राष्ट्रिय