STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठमेलबाट मूर्ति चोरी गर्ने दुई पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ५, बिहिबार

फागुन ४, काठमाडौं - नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई बुधबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ ।

उनीहरूले ज्याकेटभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । रासस

Categorized in अपराध-दुर्घटना