डा. केसीको स्वास्थ्य बिग्रँदै, अस्पताल लैजान चिकित्सकको सुझाव
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ३, शनिबार
काठमाडौं – जुम्लामा चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । स्वास्थ्य बिग्रँदै गएपछि उनलाई तत्काल अस्पताल भर्ना गर्न चिकित्सकले सुझाएका छन् ।
डा. केसी अनसन बसेको छैटौं दिनपछि स्वास्थ्यस्थिति बिग्रिएको छ । केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानान्तर गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताए ।
चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका छन् । तर केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मानेका छैनन् ।
डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबडी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकहरुले जनाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा. केसीले जुम्लामा सत्याग्रह थालेका हुन् ।
Categorized in राष्ट्रिय