ढोरपाटन महिला भलिबल ः चार खेल सम्पन्न
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १७, शुक्रबार
पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बुलबले रारा क्लबले आ–आफ्नो खेलमा विजयी शुरुआत गरेका हुन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपिएफले चुली युवा क्लबलाई ३–० सेटमा, न्यू डायमन्डले पारा माउन्टलाई ३–१ सेटमा, सबे स्कूललाई ३–० सेट तथा बुलबुले रारा क्लबले चुली युवा क्लबलाई ३–० सेटमै पराजित गरेको हो । एपिएफले चुली युवा क्लबलाई २५–६, २५–५ तथा २५–१३ अङ्कले हराएको हो । यस्तै डायमन्डले पारा माउन्टलाई २५–५, २१–२५, २५–७ तथा २५–७ अङ्कले हराएको हो ।
यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेब स्कूललाई २५–७, २५–४ र २५–८ अङ्कले तथा बुलबुले रारा क्लबले चुली युवा क्लबलाई २५–१४, २५–१४ र २५–१७ अङ्कले पराजित ग¥यो । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको सो प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार, उपविजेताले रु दुई लाख पाँच हजार, तेस्रो हुनेले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाचौँ हुनेले रु ५५ हजार, छैटौँ हुनेले रु ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र प्लेयर अफ दी सिरिज हुनेले स्कुटर प्राप्त गर्नेछन् ।
शहीद स्मारक लिग ः न्यु रोड विजयी
शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा राजेश परियारको दुई गोलको मद्दतमा न्यु रोड टिम विजयी भएको छ । दशरथ रङ्गशालामा भएको सो खेलमा न्यु रोडले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको हो ।
पहिलो आफको ३२औँ मिनेटमा राजेशले पहिलो गोल गर्नुभएको हो । यस्तै दोस्रो हाफमा उहाँले नै दोस्रो गोल गर्नुभयो । खेलको ५२औँ मिनेटमा राजेशले व्यक्तिगत दोस्रो गोल गर्नुभएको हो । खेलको ६२औँ मिनेटमा ब्रिगेडले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन् । कप्तान अनिल गुरुङले हानेको प्रहार गोलकिपर अजित प्रजापतिले बचाउनुभयो । ब्रिगेडले पेनाल्टीमा समेत गोल गर्न नसकेपछि टोली निराश बनेको थियो । जितसँगै नौ खेलमा १५ अङ्कसहित न्यु रोड लिगको चौथो स्थानमा पुगेको छ । यस्तै ब्रिगेड आठ अङ्कसहित ११औँ स्थानमा छ ।
Categorized in खेलकुद