STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तरकारी खेतीमा व्यस्त पूर्वमाओवादी नेता

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

कुनै बेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त हुनुहुन्छ । 
डोटीको दीपायलस्थित पिपल्ला बजारमा उहाँले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गर्नुभएको हो । 
राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “निःस्वार्थ रुपमा राजनीति गर्दा पेट र परिवार पाल्न गाह्रो भयो, परिवार र पेट पाल्नकै लागि भए पनि तरकारी खेती शुरु गरेँ ।” उहाँको बारी अहिले मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ भएको छ । तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेको नेता पुनमगरले बताउनुभयो । 
तरकारी खेतीबाट मासिक रु ३० हजार आम्दानी गर्ने गरेको बताउँदै उहाँले तरकारी खेती गरेर आठ जनाको परिवारलाई राम्रैसँग पाल्दै आउनुभएको छ । 
राजनीतिसँगसँगै आफ्नो उद्यम पनि गर्नुपर्ने बताउँदै नेता पुनमगरले भन्नुभयो, “जिन्दगीभरि अर्काकै लागि झोला बोकेर पेट पालिँदैन, मिहेनत र परिश्रम पनि गर्नुपर्छ ।” रु एक लाख ऋण लिएर तरकारी खेतीको शुरुआत गरेका नेता पुनमगरले अहिले ऋण चुक्ता गरिसक्नुभएको छ । सरकारले दिने अनुदानको ऋणमा ५० वर्षभन्दा माथि उमेरका लाई नदिने भन्ने प्रावधानप्रति उहाँले खरो शब्दमा भन्नुभयो, “के ५० वर्षमाथिको व्यक्ति नेपाली नागरिक हो कि होइन, उसको भोट चल्छ कि चल्दैन, काम गर्छुभन्दा त पैसो देउ ।” उहाँको बारीमा अहिले तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । उहाँको बारीमा अहिले भिण्डी, काउली, बन्दागोभी, टमाटर, धनियाँ, आलु, मूला, काँक्रा, सिम्लालगायतका विभिन्न तरकारीले भरिभराउ भएको छ । दैनिकजसो बारीमा खटिँदासमेत बजारमा तरकारीको पूर्ति गर्न नसकिएको बताउँदै नेता पुनमगरले भन्नुभयो, “बजारमा तरकारीको निकै ठूलो माग छ, जति भए पनि आपूर्ति गर्नै सकिँदैन ।” बाथ, चर्म, हर्नियालगायतका रोगले पीडित भएका नेता पुनमगर भन्नुहुन्छ, “म रोगी बुढोले त मिहेनत गरेर पैसा कमाउन सकेको छु भने स्वस्थ युवाले किन पैसा कमाउन सक्दैनन्, मिहेनत गर्नुहोस् घरैमा सुन फल्छ, विदेश जानु पर्दैन् ।” दीपायलमा पानी अभावका कारण बारीमा लगाएको तरकारी सुक्ने र कुहिने गरेको उहाँको गुनासो छ । 
Categorized in राष्ट्रिय