STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तलब बढाएपछि आन्दोलन स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १४, शनिबार

अस्पताल प्रशासनले खाइपाइ आएको मासिक तलबमा वृद्धि गरी महँगीभत्ता दिने सहमति भएपछि बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरेका छन् । अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा–सुविधाबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै गत साउन १६ गतेदेखि आफ्ना मागसहित कर्मचारी आलोपालो गरी धर्नामा बसेर अस्पतालको प्रशासन कार्यालय घेराउ गर्दै आएका थिए । गत मङ्गलबारदेखि सबै कर्मचारीले प्रशासन कार्यालय घेराउ गरेर भित्र कसैलाई पनि आवतजावत गर्न दिएका थिएनन् । जिल्ला समन्वय समितिप्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, अस्पतालका कार्यकारी प्रमुख डा डेलएम मोले र वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापालगायत पदाधिकारी तथा नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियन शिर मेमोरियल अस्पतालका अध्यक्ष राजकुमार श्रेष्ठलगायतका प्रदाधिकारीबीचको वार्तामा कर्मचारीले खाइपाइ आएको तलबमा १५ प्रतिशत वृद्धि गर्ने तथा मासिक रु एक अजार ५०० महँगीभत्ता दिने सहमतिपछि कर्मचारीको आन्दोलन स्थगित भएको हो । यसअघि आफ्ना मागबारे पटकपटक अस्पताल प्रशासनसँग पहलगर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको कर्मचारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अन्य मागबारे अस्पताल प्रशासन र कर्मचारी युनियनका पदाधिकारीबीच छलफलबाट समाधान गर्दै जाने सहमति भएको छ । अस्पतालका विभिन्न विभागका विभिन्न तहमा २८६ कर्मचारी कार्यरत छन् । अस्पताल कर्मचारीले अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुर्ने, अस्पतालको स्तरोन्नति एवं बिरामीको सेवा सुविधा बढाउनुपर्नेलगायतका मागराख्दै आएका थिए । विसं २०१८ देखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत परिचित छ ।
Categorized in राष्ट्रिय