relans
ni new 83
nib 2082 5

तातोपानीको रेन्बो ट्राउट व्यवसाय

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो । 
राम्जाली र थापाले तातोपानी रेन्बो ट्राउट फार्म दर्ता गरी आठ वटा पक्की पोखरीमा शुरु गरेको यस व्यवसायमा अहिले ३५० किलोग्राम माछा बिक्री गर्न योग्य भएका र २५ हजार भुरा हुर्किंदै छन् । ग्राहकहरु फार्म खोज्दै माछापोखरीमा नै आउने गरेको फार्मका सञ्चालक राम्जालीले बताउनुभयो ।
चौध वर्षसम्म पोखरा बसेर व्यवसायसँगै भुजुङखोलाको माछा फार्म, गण्डकी रेन्बो ट्राउट फार्म र क्षेत्रदीप रेन्बो ट्राउट फार्ममा माछापालनसम्बन्धी आवश्यक सीप र ज्ञान आर्जन गरी आफ्नै गाउँमा फर्केर माछापालन शुरु गरको उहाँले बताउनुभयो ।
ठाडो खोलाबाट आउने चिसो पानी पाइपमार्फत ल्याई आठ वटा पक्की पोखरीमा गरिएको माछापालन हेर्न बेनी–जोमसोम–कोरला सडकबाट मुस्ताङ जाने वा मुस्ताङबाट फर्केर आउने स्वदेशी वा विदेशी पर्यटकसमेत आउने गरेका राम्जालीले बताउनुभयो । सडकदेखि करीब १० मिनेटको पैदल यात्रापछि तातोपानी रेन्बो ट्राउट फार्म पुग्न सकिन्छ ।  
“यही फार्म र यहाँको माछापालन देखेर विदेश जाने भनेर राहदानी बनाएका कतिपय युवाले समेत राहदानी थन्काएर गाउँमा नै व्यवसाय गरेर बसेका छन्’’, फार्मका अर्का सञ्चालक थापाले भन्नुभयो, “एकैचोटि धेरै पैसा कमाउने लोभ नहुने र विस्तारै मिहेनत गर्दै जाने हो भने यस्तै व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ ।”
विसं २०७२ मा सामान्य पोखरीमा परीक्षणका रुपमा गरेको माछापालन सफल भएपछि २०७५ सालदेखि व्यावसायिक रुपमा नै लगानी वृद्धि गरी माछापालन गरेको थापाले बताउनुभयो । प्रतिकिलो रु एक हजार ३०० का दरले पोखरीबाट नै माछा बिक्री हुने हुँदा बजारको कुनै समस्या नभएको उहाँको भनाइ थियो । 
यस वर्ष रु छ लाख ५० हजारको करीब ५०० किलो माछा बिक्री गर्ने तयारीमा रहेका सञ्चालकद्वयले अर्को वर्ष रु १० लाखभन्दा बढीको माछा बिक्री गर्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो । मिहेनत गर्ने हो भने स्वदेशमा नै बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यी युवाले दिएको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका वडाध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2