तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २०, सोमबार
हालसम्म ४५७ दिन सञ्चालन भइसकेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ साल असोज २४ गते घटस्थापनाका दिनेदेखि सञ्चालन गरिएको आरती निरन्तर चलिरहेको छ ।
‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले चरितार्थ गरेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “आरतीको दिगोपनका लािग शुरु गरिएको अक्षयकोषमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ ।” अक्षयकोषमा रु एक करोड पु¥याउने समितिको लक्ष्य रहेको छ ।
दिनभरिको थकान, तनाव, कोलाहलबाट केही समय पनि एकचित्तरुपमा आत्मशान्तिको लागिसमेत आरतीमा धार्मिक पर्यटनको आकर्षण बढ्दै गएको समितिका सहसचिव तुलसी दाहालले बताउनुभयो । उहाँका अनुसार मुलुकका विभिन्न स्थानबाट पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटक आरतीको दर्शन र ताप्नको लागिनै पटकपटक आउने गरेका छन् । “नित्य पूजाका लागि त जेनतेन आर्थिक सङ्कलन भएको छ”, उहाँले भन्नुभयो,“विशेष गरी तालको किनारामा बालबाराही मन्दिर सामुन्ने खुला आकाशमुनि गरिने आरती पानी पर्दाको समयमा भने भक्तजनलाई अप्ठेरो पर्ने गरेको छ ।”
आरती सञ्चालनमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट रु ७० हजार र पोखरा–६ का जनप्रतिनिधिबाट रु १५ हजार सहयोग प्राप्त भएको जनाइएको छ । तालबाराही मन्दिरलगायत आसपासमा बलेका बत्ती तालको पानीमा देखिने मनोरम दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेका छन् ।
Categorized in राष्ट्रिय


