तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २७, बुधबार
काठमाडौं - गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’
घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ ।’
घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइने उनले बताए । बिरामीहरूलाई आश्वासन दिँदै उनले भने, ‘पहिला उपचार गर्नुस्, बाहिरबाट ल्याएको औषधीको पनि स्वास्थ्य मन्त्रालयमा मार्फत भुक्तानी हुन्छ ।’
नेपालीको नेतृत्वमा नागरिक आयोग गठन
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ ।
संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे अनुसन्धान गर्न नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन गरेको समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगको सदस्यमा पूर्व एआइजी रविराज थापा, डा.रामप्रसाद उप्रेती,डा।ज्ञान बस्नेत र हरि कट्टेल रहेका छन् ।
Categorized in राष्ट्रिय

