थप ८३८ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए १८२ संक्रमित
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार
काठमाडौं – पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा आज मात्रै थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंका १४२ जना, भक्तपुरका १५ जना र ललितपुरका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् ।
काठमाडाैं बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।
उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आयो । त्यसयता ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो
योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।
उपत्यकाका ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।
बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भइसकेका छन् ।
Categorized in राष्ट्रिय