दीपक मनाङेले दिए प्रदेशसभाको विकास समितिबाट राजीनामा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ८, सोमबार
काठमाडाैं - दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको जनाइएकाे छ ।
समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको र जुन ठाउँमा बसेर काम गर्न सकिँदैन त्यहाँ बस्नुको कुनै औचित्य नरहेको जनाउँदै गुरुङले राजीनामा दिएकाे जनाइएकाे छ ।
राजीव गुरुङले सपथ लिएको १७ महिनामात्र पुगेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण गुरुङ सपथ लिन पाएका थिएनन् । सांसद भएपछि पनि उनी करिब ९ महिना जेल बसे । सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले गएको संसदमा निवेदन दिएर गएको माघ १४ गते सपथ लिएका थिए ।
तत्कालीन एमालेको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद बनेका गुरुङ गत वर्षको असार १९ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट टीका लगाएर नेकपा प्रवेश गरेका थिए ।
Categorized in राजनीति