STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १२, बिहिबार

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने ९फ्लोरसेन्ट० ज्याकेट अनिवार्य गरिएको छ । आगामी आइतबारदेखि लागू हुनेगरी गैँडाकोट क्षेत्रका विद्यालयका सवारी साधन चलाउने चालक र सहचालकलाई एउटै प्रकारको फ्लोरसेन्ट ज्याकेट अनिवार्य गरिएको हो । दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधनबाट काम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताउनुभयो । “पछिल्लो समय दुर्घटनामा विद्यालयका सवारी साधन बढी परेको पाएका छौँ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “गैँडाकोटबाट शुरु गरिएको अभियान जिल्लाका सबै स्थानीय तहमा लागू गर्नेछौँ ।” आइतबारदेखि विद्यालयका सवारी साधन चालक तथा सहचालकले फ्लोरसेन्ट नलगाएको अवस्थामा उनीहरुलाई कारवाही थाल्ने उहाँले बताउनुभयो । त्यस्तै विद्यालयका सवारी साधनले विद्यार्थीलाई उभ्याएर यात्रा गराउने गरेको उल्लेख गर्दै त्यसरी यात्रा गराएको पाएमा समेत नियमानुसार कारवाही गर्ने उहाँले बताउनुभयो । विद्यालय सञ्चालकले समेत ट्राफिक प्रहरीलाई सघाउने जानकारी दिँदै आगामी दिनमा विद्यालयका सवारी साधनमा विद्यार्थीलाई उभ्याएर यात्रा नगराइने प्रतिबद्धता जनाएका छन् । सकेसम्म विद्यालयका सवारी साधन पहेँलो रङको प्रयोग गर्ने पहेँलो रङ उपलब्ध नभएको अवस्थामा विद्यार्थी बोकेको जानकारी प्रदान दिने सूचक सवारी साधनमा राखेर विद्यार्थी बोक्न विद्यालय सञ्चालक सहमत भएका छन् । प्याब्सन नवलपुरका अध्यक्ष रामचन्द्र देवकोटाले विद्यालयका सवारी साधन रोक्नका लागि निश्चित क्षेत्र छुट्याइदिन आग्रह गर्नुभएको छ । विद्यालय क्षेत्र वरिपरि चर्को हर्न बजाउने, विद्यार्थी बोकेको सवारी साधनलाई साइड नदिने प्रवृत्ति धेरै भएकाले यसको नियन्त्रणका लागि समेत ट्राफिक प्रहरीले काम गर्नुपर्ने देवकोटाले बताउनुभयो । गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले आगामी शैक्षिकसत्रबाट विद्यार्थी बोक्ने सबै सवारी साधनको रङ अनिवार्यरूपमा पहेँलो हुनुपर्ने भन्दै निर्देशिकासमेत बनाइसकेको बताउनुभयो । नगरपालिकाले समेत अनुगमन गरेर नियम उल्लङ्घन गर्ने विद्यालयलाई कारवाही गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । गैँडाकोट नगरपालिकाभित्र २२ निजी विद्यालय तथा आठ सामुदायिक विद्यालयले विद्यार्थी बोक्न सवारी साधन प्रयोग गर्दै आएका छन् ।
Categorized in राष्ट्रिय