STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २४, बिहिबार

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ”, मौसमविद् बासीले भन्नुभयो । हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ । राति देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।
Categorized in राष्ट्रिय