STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर विद्यार्थी भर्ना अभियान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऊँ’ भन्ने नाराका साथ सोमबारदेखि देशभर एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वान तथा स्थानीय सरकारको अधिकार अनुरुप सोमबारबाट देशभरका ७५३ स्थानीय तहमार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गरिएको हो । मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने उद्देश्यले भर्ना अभियान शुरु गरेको केन्द्रका निर्देशक गेहनाथ शर्माले जानकारी दिनुभयो । शिक्षाको अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा विद्यार्थी भर्ना अभियान स्थानीय तहले सञ्चालन गर्नुपर्ने व्यवस्था अनुरुप यस वर्षदेखि सरकारले तय गरेको नारामा आधारित रहेर प्रत्येक स्थानीय तहले सोमबारबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समेत विद्यार्थी भर्ना गराउन आह्वान गर्नुभएको बताउनुभयो । यस वर्ष विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने भएको छ । गत वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेपनि यस वर्ष यो सङ्ख्या बढेको अनुमान छ । पाँचदेखि नौ वर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएको बताइएको छ । भर्ना अभियानअन्तर्गत वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने र त्यसपछि घरदैलो अभियान सञ्चालन गरेर भर्ना अभियान सञ्चालन गरिने केन्द्रका निर्देशक शर्माले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा विद्यालय भर्ना भइसकेका विद्यार्थी पनि बीचमै विद्यालय छाड्नेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भएको छ ।
Categorized in राष्ट्रिय