देशैभर बाढीकाे वितण्डा • पहिराेमा परी पाेखरामा ७ लमजुङमा ३ र रुकुममा २ काे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २६, शुक्रबार
अन्य जिल्लासंग काठमाडौंको सम्पर्क विच्छेद
निरन्तरको वर्षाले राजधानी आवात जावत गर्ने प्रमुख तीनवटै राजमार्ग अवरुद्ध भए पछि मुलुकका अन्य जिल्लासंग काठमाडौंको सम्पर्क विच्छेद भएको छ । बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहिरोका कारण अवरुद्ध भए पछि धेरै ठाउँवाट काठमाडौं भित्रन र बाहिरिने क्रम बन्द भएको छ । पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध छ। ‘पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुलि नसकेको छैन,’ डिआइजी लामाले बताउनुभयो । यस्तै बीपी राजमार्ग पनि शुक्रबार बिहानैदेखि अवरुद्ध भएका कारण सवारी साधन चल्न सकेका छैनन् । सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी रहे पनि ठाउँठाउँमा पहिरो गएकाले सडक सञ्चालनमा आएको छैन । त्यसैगरी बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै अवरुद्ध यो सडकमा शुक्रबार थप पहिरो गएको हो। बुधबारदेखिको निरन्तरको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ। विभिन्न ठाउँमा मानवीय क्षती समेत भएका छन्। [caption id="attachment_36139" align="alignnone" width="900"]
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर ( पानीटयाङ्की सडक । तस्वीर ः वासुदेव पौडेल[/caption]
घरभित्र पहिरो पस्दा तीनको मृत्यु
लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको घरभित्र गए राति पौने १२ बजेतिर अविरल वर्षासँगै पहिरो पस्दा ३३ वर्षीय दीपकसहित नौ वर्षीय छेवाङ तामाङ र २६ वर्षीया विमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक तामाङको घरदेखि करिब २५/३० मिटर माथिबाट आएको पहिरो घरभित्र छिर्दा उहाँको परिवारका तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकास पुनले बताउनुभयो । घरभित्र पुरिएको अवस्थामा शव सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए । २६ वर्षीया विमायाको राति १ बजे र दुई जनाको राति साढे २ बजे शव निकालिएको प्रहरीको भनाइ छ । उद्धारपश्चात् उनीहरुको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै, मृतक ३३ वर्षीय तामाङको घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही वडा सातविसे घर भएका २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर नगरपालिका १० घर भएका २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीको भनाइ छ । घाइते तीन जनालाई नै जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।
[caption id="attachment_36140" align="alignnone" width="900"]
लमजुङको क्व्होलासोथर गाउँपालिका– ७बmउस स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो । यस घरसहित गाउँका ११ घर पहिरोको उच्च जोखिममा रहेको छ । तस्वीर ः जनक श्रेष्ठ[/caption]
मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।
[caption id="attachment_36141" align="alignnone" width="900"]
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।तस्वीर ः कृष्ण न्यौपाने[/caption] धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिनुभयो । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन । ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिनुभयो । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटानको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उहाँले जानकारी दिनुभयो । गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताउनुभयो । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ । पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । वर्षा भइरहेको र बादल लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उहाँले बताउनुभयो । बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । मङ्गला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । भू–तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाइ म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सीमित ठाउँमा भएको अत्यधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताउनुभयो । [caption id="attachment_36137" align="alignnone" width="900"]
लमजुङको बेँसीशहर नगरपालिका–७बmउस स्थित सातविसेमा घरमाथिबाट झरेको पहिरोमा परेकाको उद्दारमा खटिँदै सुरक्षाकर्मी । सो पहिरोमा परी ३३ वर्षीय दीपक तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने तीन जान घाइते भएका छन । तस्बिरः जनक श्रेष्ठ[/caption]
भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा
पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताउनुभयो । उहाँका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उहाँको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।
यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ । गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उहाँका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ ।
[caption id="attachment_36138" align="alignnone" width="900"]
डोटीको केआइसिंह गाउँपालिका–५ बुहारमा गए राति आएको पहिरोले पुरिएपछि क्षतिग्रस्त भएको से १ च २१२५ नम्बरको महेन्द्र जीप । जीपका चालक भने ज्यान बचाउन सफल भएका छन । तस्वीर ः विमलबहादुर विष्ट[/caption]
पहिरोले घर पुर्दा आमा छोरीको निधन
रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।
तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीको भनाइ छ । स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवितै उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
उहाँका अनुसार घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय आठबीसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा २ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
[caption id="attachment_36135" align="alignnone" width="900"]
अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने पुल । तस्वीर ः कृष्ण न्यौपाने[/caption]
उच्च सतर्कता अपनाउन आग्रह
गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।
कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लाका स्थानीय तथा सरोकारवाला निकायलाई बिहीबारदेखि मनसुन सक्रिय रहेकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अवरुद्ध हुनेसक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७७ अनुरुप सबै सरोकारवाला निकायमा आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरण कार्यमा उच्च सतर्कता अपनाउन स्थानीय तहलगायत सरोकारवाला निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।
स्थानीय तह एवं सरोकारवाला निकायले पूर्वतयारीस्वरुप गरिएको कार्यको जानकारीसमेत मागिएको तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् । काभ्रेपलाञ्चोक भएर चार ठूला नदी सुनकोशी, इन्द्रावती, रोशी र वाग्मती बगेका छन् । देशका विभिन्न स्थानमा वर्षाका कारण घटना भइरहेकाले पनि जिल्लाका बासिन्दामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
[caption id="attachment_36142" align="alignnone" width="900"]
म्याग्दी नदीले कटान गरेपछि भत्किएको बेनी नगरपालिका–७बmउस मङ्गलाघाटस्थित प्रहरी बिट । तस्वीर ः सन्तोष गौतम[/caption]
जिल्ला हुँदै बग्ने ठूला नदीमा बिहीबरदेखि बहाव बढिरहेकाले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन स्थानीय प्रशासनल आग्रह गरेको हो । “विशेष गरी ठूला नदी छेउछाउका बस्तीलाई विशेष निगरानी गर्नुपर्ने देखिएको छ, उच्च सतर्क रहन पनि आग्रहगरेका छौँ”, तिमल्सिनाले भन्नुभयो । जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमासमेत बाढी आइरहेका छन् ।
छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बुधबार रातिको अविरल वर्षाका कारण बाढी–पहिरोले बाह्रबिसे नगरपालिका–५ गातीस्थित जम्बू बजार र खागदल बस्ती तथा भोटकोशी गाउँपालिका–५ को बुल्कोटीका ३६ घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो । २० अझै वेपत्ता रहेका छन् भने सात घाइते भएका थिए । गम्भीर घाइते पाँचलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको छ । बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो । “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ”, मौसमविद् पोखरेले भन्नुभयो ।
मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र सबैभन्दा धेरै पोखरामा १३६ .७ मिलिमिटर वर्षा भएको छ ।
[caption id="attachment_36143" align="alignnone" width="900"]
अविरल बर्षासँगै नारायणी नदीमा आएको बाढीको दृश्य । तस्वीरः कृष्ण आचार्य[/caption]
Categorized in राष्ट्रिय


