STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देश र जनताको हितलाई प्रेरित गर्ने समाचार लेख्नुपर्छ उपप्रम

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जा स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उहाँले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वको मनोदशा कसरी सरकारमा टिक्ने, ढाल्ने भन्नेमै चलिरह्यो भने अरु एजेण्डा के हुन्छन्, यो अहिलेको यथार्थ हो, सञ्चार क्षेत्रले यो कुरालाई कसरी लिने, कसरी हेर्ने भन्ने विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिको काम गराइ पब्लिक अडिटमा बेरुजु देखिनुहुन्न ।”सञ्चार क्षेत्रले यस्तोखाले परिवेश बुझ्न जरुरी रहेको बताउँदै उहाँले लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रियामा रही देश र जनताको हितका लागि प्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । उहाँले विभिन्न पेशामा संलग्न भए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय कार्यक्रममा एकाकार हुन सबैमा आह्वान गर्नुभयो । नेपालीको खुशी र समृद्धि तथा स्वाभिमान जगाउन र आत्मनिर्भर बनाउन इञ्जाले खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभयो । “आफू जहाँ गए पनि देशप्रति सम्मान भाव राख्ने, भलो चिताउने, देशभक्तिको भावनालाई कायम राख्ने र मातृभूमिप्रति सहयोग पु¥याउन तत्पर रहने नेपालीको परम्परा रहेकाले इञ्जाले सम्मान र पुरस्कार प्रदान गर्ने राम्रो कामको थालनी गरेको छ, यसले निरन्तरता पाउनुपर्छ”, उहाँले भन्नुभयो । समारोहमा मोफसलमा रही नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरियो । पुरस्कारका लागि उक्त रकम अमेरिकामा बस्दै आउनुभएका गीतकार अम्बिका गुरुङले उपलब्ध गराउनुभएको हो । पत्रकारद्वय मेनका ढुङ्गाना ९अछाम० र प्रकाशसिंह ९बाजुरा०लाई जनही ५०० डलर राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरियो । पुरस्कारका लागि उक्त रकम अमेरिकामा रहनुभएकी सुनिता खत्रीले सौजन्यस्वरुप उपलब्ध गराउनुभयो । ढुङ्गानालाई छाउपडी र सिंहलाई कुपोषणसम्बन्धी खोजमूलक समाचारका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षसँग आवश्यक छलफल नै नगरी अघि बढाइएको भनी गुनासो गर्नुभयो । नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्र व्यावसायिक रुपमा अघि बढिरहेको बताउनुभयो । पुरस्कार छनोट समितिका संयोजक तीर्थ कोइरालाले स्रष्टालाई सम्मान र समाजमा देखिएका विकृति तथा विसङ्गतिलाई गहिरोरुपमा चिरफार गर्ने सञ्चारकर्मीलाई प्रदान गरिएको पुरस्कारले सत्कर्म गर्नेलाई प्रेरणा मिल्नेछ भन्नुभयो । इञ्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेलले विश्वभर छरिएर रहेका नेपाली पत्रकारबीच सम्पर्क र समन्वय गर्न सहज होस् भन्ने हेतुले गठन भएको इञ्जाले सेवामूलक संस्थाका रुपमा पत्रकारलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । संस्थाका केन्द्रीय उपाध्यक्ष टङ्क पन्तले संस्थाले पत्रकारलाई प्रेरित गर्न सामुदायिक र साहसिक पत्रकारिता पुरस्कारको अतिरिक्त स्रष्टासम्मान कार्यक्रम गर्दै आएको बताउनुभयो । समारोहमा नेपाल टेलिभिजनका अध्यक्ष विष्ट, नेपाल समाचारपत्रका प्रधानसम्पादक कपिल काफ्ले, प्रेस काउन्सिल नेपालका सदस्य सङ्गीता खड्का, राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य किरण पोखरेल र संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष कृष्णा पौडेललाई सम्मान गरिएको थियो । समारोहमा उपचाररत पत्रकार कमल पौडेलको सहयोगका लागि इञ्जाले सङ्कलन गरेको रु १४ लाख उहाँको परिवारलाई हस्तान्तरण गरिएको थियो ।
Categorized in राष्ट्रिय