STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धरानमा ३ र चितवनमा एकजना संक्रमितको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार

काठमाडाैं – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना र चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  माेरङका मृतकमा कुनै दीर्घ रोग नभएका र एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।  उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।  यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई १६ भदौमा कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । यस्तै, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि २२ भदौमा प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए ।  २२ भदौमा अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा २४ भदौमा उनको कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ ।  चितवनमा थप एक जनाको मृत्यु यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ की ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि १५ भदौंमा अस्पतालमा भर्ना भएकी उनमा १७ भदौंमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । 
Categorized in राष्ट्रिय