STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धर्म र पर्यटनलाई जोड्दै नौधारे सिद्धबराह

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २२, मंगलबार

पोखरा महानगरपालिका–१६ स्थित नौधारे सिद्धबराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने भएको छ । धेरै सम्भावना भएर पनि प्रवद्र्धनको अभावमा पछिपरेको भन्दै श्री नौधारे सिद्धबराह युवा क्लबको सक्रियतामा यहाँको पूर्वाधार विकास र प्रचारप्रसारको पहल थालिएको हो । क्लबका अध्यक्ष शम्शेरबहादुर गुरुङले आवश्यक पूर्वाधार विकास गर्दै यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारसँग माग गरिएको जानकारी दिनुभयो । साबिक अर्मला गाविस–५ रञ्जितगाउँका स्थानीयवासीले विसं २०१३ यता बर्सेनी माघे सङ्क्रान्तिका अवसरमा मेला गर्दै आएकामा यस वर्ष पनि त्यसलाई निरन्तरता दिँदै मेलालाई नौधारे सिद्धबराह र आसपासका क्षेत्रको प्रवद्र्धनका लागि उपयोग गरिने गुरुङले बताउनुभयो । उहाँका अनुसार रञ्जितगाउँ पूर्व–उत्तरतर्फको जङ्गलको ठूलो पहराको बीचबाट पानी निस्केको छ । नौवटा मूलबाट पानी निस्केको विश्वासका आधारमा यसलाई नौधारे भनिएको र परापूर्वकालदेखि यस ठाउँमा माघे सङ्क्रान्तिमा मेला लाग्ने गरेको छ । माघे सङ्क्रान्तिका दिन यहाँका नौ धारामा स्नान र दर्शन गरी तरुल, मासको टीका लगाई आशीर्वाद लिने र कन्याहरूलाई टीका लगाई आशीर्वाद दिने चलन छ । रञ्जितगाउँबाट करिब डेढ घण्टा समयावधिमा पुग्न सकिने उत्तरतर्फको मूलकोट भूमि पार्केडाँडा, नागीडाँडालगायतका ठाउँबाट माछापुच्छ«ेसहित पोखरालगायतका दृश्य एकसाथ अवलोकन गर्न सकिने उहाँले जानकारी दिनुभयो । आगामी माघ १ देखि ३ गतेसम्म चल्ने मेलाका अवसरमा यहाँ सञ्चालित घरवास कार्यक्रमको प्रचारप्रसारका साथै भलिबल, ठेलो हान्ने, रस्साकस्सी लगायतका प्रतियोगिता गरिने भएको क्लबले जनाएको छ ।
Categorized in राष्ट्रिय