नक्कली शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझी नियन्त्रणमा, छाेरा सन्दीपलाई अदालतमा उपस्थित गराइयाे, ८ जना पक्राउ
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २१, बिहिबार
काठमाडौँ - नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
बिहीबार बिहान बुटवलबाट काठमाडौँ ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।
विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।
यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । यस्तै यो प्रकरणमा एमाले सचिव समेत रहेका टोपबहादुर पनि मुछिएका छन् ।
यसअघि पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरीले बतायो ।
अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ ।
उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।
यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।
प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।
Categorized in राजनीति

