STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगदेशमा १२ वर्षपछि ऐतिहासिक पुलिकिसी जात्रा

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २८, सोमबार

भक्तपुर - मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा गएराति नै सम्पन्न भएको छ । 

हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए ।  

जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्रांगणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायत टोलमा परिक्रमा गरी मनाइएको हो ।

श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए ।  

यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रुपमा प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा सवार गराई टोलटोलमा पुर्याइ जात्रा चलाइएको हो । 

राजकुमार बन्नेले सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेको र भोज खुवाउँदा धरै खर्च हुने भएपछि जात्रा रोकिएको स्थानीयको भनाइ छ । 

यसवर्ष समितिको छलफलबाट एलिसलाई राजकुमारको रुपमा प्रस्तुत गरिएको हो । जात्रा सुरु हुनुअगाडि आइतबार साँझ नगदेशको लाय्‌कुस्थित सिद्धि गणेश मन्दिर परिसरमा  स्थानीयलाई भोज खुवाएपछि पुलुकिसी जात्रा सुरु भएको थियो ।

राजकुमार छनोट भएको खुसियालीमा भोजभतेर गर्दै नगदेशवासीले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ । यसपर्व मनाउनेक्रममा सुयोग्य बरबधुको मनोकांक्षा राख्दै युवापिँढीहरुले पनि व्रत बस्ने परम्परा रहेको छ । 

नगदेश लाय्‌कु दरबार समितिका सदस्य भाइजन बाडेले काठमाडौं र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा मनउने गरिए पनि नगदेशमा भने स्वस्थानी व्रत कथामा आधारित रहेर यो जात्रा मनाउने गरिन्छ । रासस

Categorized in उपत्यका