STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगरप्रमुख श्रेष्ठमाथि मोबिल छ्याप्ने प्रहरी नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १४, मंगलबार

काठमाडौं - सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हो।

प्रमख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए। उनले भने, ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडीभित्र पसेकोमात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएँ, एकजनालाई समाएँ र अर्को भने भाग्न सफल भयो।’

मोबिल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ। पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका- १ का साधुशरण महरा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जनाएको छ ।

उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठलाई लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, बजारको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेको उल्लेख गरिएको छ।

पर्चामा फर्जी कागज बनाई गोलबजार- १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता कार्यकताविरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको पर्चामा उल्लेख गरिएको छ।

घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्व(पश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेको थियो । सिरहामा जनप्रतिनिधिमाथि मोबिल छ्यापेको यो पहिलो घटना हो।

Categorized in राष्ट्रिय