STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नगर सङ्घको पहिलो ‘लबिङ सेन्टर’ पोखरा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

पोखरा महानगरपालिका नगरपालिकाहरुको पहिलो ‘लबिङ सेन्टर’  भएको छ । प्रमुखहरु पोखराका मानबहादुर जिसी र धुलिखेलका  अशोककुमार ब्यञ्जुबीच भिडियो कन्फ्रेन्स भई ‘कन्फ्रेन्स टेक्नोलोजी’ शुरुआत गरिएको हो । 
ंप्रादेशिक नगर अध्ययन केन्द्रको संयोजन र नेपाल नगरपालिका सङ्घको सहयोगमा भएको उक्त कार्यक्रममा  पोखराका प्रमुख एवं प्रादेशिक नगर अध्ययन केन्द्रको संयोजकसमेत रहनुभएका जिसीले सङ्घको अध्यक्षसमेत रहनुभएका ब्यञ्जुलाई सङ्घको जिम्मेवारी तथा स्थानीय सरकार गठन भएको दुई वर्षमा सङ्घले गरेका उपलब्धिका बारेमा प्रश्न राख्नुभएको थियो । जवाफमा सङ्घका अध्यक्ष ब्यञ्जुले संस्थाले सरकारले तोकेको अधिकार क्षेत्रभित्र रहेरै काम गरिरहेको जवाफ दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले हामीले संस्थागत शुद्धीकरण गर्ने र  अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई जोड दिएका छौँ ।’ 
जिसीले स्थानीय तहका थुप्रै कानून तथा नीतिनियम बन्न बाँकी रहेको भन्दै सङ्घको भूमिका खोज्नुभयो ।  ब्यञ्जुले केही कानून तथा नीतिनियम बनेको  र बाँकी कानून निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका कानून, कामकारवाही र नीतिनियमबारे प्रभावकारी रुपमा अघि बढाउन लबिङ सेन्टर बनाउँदैछौंँ ।” उहाँले सात प्रदेशमा नौ लबिङ सेन्टर बनाइने र  गण्डकी प्रदेशको केन्द्र पोखरालाई तोकिने बताउनुभयो । लबिङ सेन्टरले अनुभव आदानप्रदान गर्ने, एउटा नगरपालिका र अर्को नगरपालिकाबीच सिक्ने तथा नीति नियम र कानुनबारे प्रष्ट पार्न सहयोग गर्ने उहाँको भनाइ थियो । 
जिसीले प्रविधिको शुरुआत गर्दै गण्डकी प्रदेशका सबै नगरपालिका अब पोखरासँग जोड्ने काम पनि शुुरु भएको र विस्तारै वडालाई पनि जोडिने बताउनुभयो ।  पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पोखरा महानगर ‘भच्र्युअल गभर्मेन्स’तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले अब भिडियोबाटै बैठक तथा सेमिनार गर्न सकिने बताउनुभयो  । 
नगरपालिका सङ्घका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले  नगरपालिका सङ्घले सात प्रदेशका नौ ठाउँमा ‘लबिङ सेन्टर’ बनाइरहेको र  पोखरा महानगरमा पहिलो पटक शुरुआत गरिएको जानकारी दिनुभयो । उहाँले नेपाल एजुकेशन रिसर्च नेटवर्कसँगको सहकार्यमा भिडियो कन्फ्रेन्स सिष्टम लागू गर्न लागिएको बताउँदै  सबै स्थानीय तहदेखि केन्द्रसम्मलाई एकै ठाउँमा जोड्न सो प्रविधि लागू गरिने  जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सबै स्थानीय तह ‘नेटवर्क र कम्युनिकेशन’ गर्ने थलोका रुपमा यो प्रविधि भरपर्दो हुनेछ ।” 
पोखरा महानगरमा ‘भिडियो कन्फ्रेन्स’ प्रविधि लागू गर्न सङ्घले रु  तीन लाख ७५ हजार लगानी गरेको छ । भिडियो कन्फ्रेन्सका लागि महानगरले टिभी परिवर्तन गर्नु परेकाले रु ५० हजारसमेत लगानी गरेको महानगरका सूचना प्रविधि अधिकृत शर्मिला गौतमले जानकारी दिनुभयो ।
सो अवसरमा पोखरा महानगर र काठमाडौ लिविंग ल्याब्सको सहकार्यमा पोखरामा नक्शाङ्कन भई ‘म्याप बुक’को दोस्रो संस्करण विमोचन एवं वेव एपसहितको मोवाइल एपको पनि औपचारिक शुरुआत गरिएको थियो । 
Categorized in राष्ट्रिय