नरेनमान महर्जनको “गबलें गबलें र “हारती मां” म्यूजिक भिडियो श्रावण ४ गते कीर्तिपुर सिनेप्लेक्सबाट रिलिज हुने
Janjati Khabar – Lalendra Shakya | २०८१ श्रावण १, मंगलबार
कीर्तिपुर/कीर्तिपुरका संगीतकर्मी एवं साहित्यकार कवि नरेनमान महर्जनको दुईटा म्यूजिक भिडियो साउन ४ गते कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा सार्वजनिक हुने भएको छ ।
भक्ति रसद्वारा सजिएको ‘हारती मां’ शीर्षकको भक्ति भजन एवं करुणा रसले सिंगारिएको ‘गबलें गबलें’ बोलको नेपालभाषाको गजल गीतको म्यूजिक सार्वजनिक हुने जानकारी संगीतकर्मी नरेनमान महर्जनले दिनुभएको छ ।
ने.सं. ११४४ दिल्लाथ्व त्रयोदसी (साउन ४ गते) शुक्रबार दिउँसो ३ बजे कीर्तिपुर सिनेप्लेक्स हलबाट सार्वजनिक हुने उक्त दुईटा गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजकको रुपमा एन.एम. म्यूजिक रहेको छ भने यूट्युब च्यानलमा पनि एन.एम. म्यूजिकबाट नै सार्वजनिक भएका भिडियोहरु अपलोड हुने जानकारी नरेनमान महर्जनले दिनुभएको छ । आयोजक संस्था एन।एम। म्यूजिकका नरेनमान महर्जनले जानकारी दिनुभए अनुसार श्रावण ४ गते शुक्रबार हुने म्यूजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा स्वयं नरेनमान महर्जनको सभापतित्वमा कार्यक्रम संचालन हुनेछ ।
यस्तै, प्रमुख अतिथिको रुपमा नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको उपस्थिति रहनेछ भने विशेष अतिथिको रुपमा बरिष्ठ समालोचक प्रकाश साय्मिको उपस्थिति तथा कार्यक्रममा कीर्तिपुरका समाजसेवी श्रीराम महर्जन अतिथिको रुपमा उपस्थिति रहने नरेन मान महर्जनले जानकारी दिनुभएको छ ।
सार्वजनिक हुने नेपालभाषाको गजल ‘गबलें गबलें’का रचना कृष्णदास जोशीले गर्नुभएको हो भने संगीत तथा स्वर नरेनमान महर्जनको रहेको छ । यस्तै नेपालभाषाकै भक्ति संगीत भजन ‘हारती मां’का रचना एवं संगीत नरेनमानको रहेको छ भने उक्त गीतमा स्वयं नरेनमान महर्जन लगायत शुद्धलक्ष्मी श्रेष्ठ, भावना पलिखे, जयलक्ष्मी सिद्धि बज्राचार्य र गौतम मानन्धरको स्वर रहेको छ । नरेनमान महर्जनद्वारा संगीत एवं स्वरबद्ध तथा कृष्णदास जोशी रचित नेपालभाषाको गजल “गबलें गबलें”को म्यूजिक भिडियो गुणस्तरीय म्यूजिक भिडियो निर्माणमा माहिर मगन इन्टरटेन्टमेन्ट कीर्तिपुरका निर्देशक रजिन महर्जनको निर्देशनमा तयार भएको म्यूजिक भिडियो हो ।
यस म्यूजिक भिडियोमा नेपालभाषा कला क्षेत्रका चर्चित कलाकारहरु लक्ष्मीकुमार महर्जन उदास, अर्णेश्वरी शिल्पकार, रोजीना सुवाल, सुरेन्द्र महर्जन तापाख्यःमि लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् ।

यस्तै, नेपालभाषाकै भक्ति संगीत “हारती मां” म्यूजिक भिडियोमा पनि स्वयं गायक गायिका लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् भने निर्देशन लक्ष्मीकुमार महर्जनले गर्नुभएको छ ।
कीर्तिपुर खासीबजार बाहिरी गाउँ निवासी नरेनमान महर्जन एक शास्त्रीय संगीतका विद्यार्थी पनि हुन् भने एक कवि पनि हुन् ।
उहाँद्वारा रचिएको कविता संग्रह बजारमा आइसकेको छ भने हालै मात्र केही समय अगाडि उहाँले जनकवि दुर्गालाल श्रेष्ठको “घाः जुया जक ख्वइगु खः झी” बोलको जनजागरण गीत विभिन्न गायक गायिकाहरुको स्वर समाहित गरी रि–रिकर्डिङका साथै म्यूजिक भिडियो रिलिज गरिसक्नु भयो ।
Categorized in साहित्य-कला

