STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नवौँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव प्रि इभेण्ट सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र ८, आइतबार

नेपाल चलचित्र तथा सांस्कृतिक एकेडेमीकाे आयोजनामा हुन गइरहेको  नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्ट कार्यक्रमहरू सम्पन्न भएका छन् । गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि-इभेन्ट चरण पूरा भएको हो । कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ प्रदर्शन गरिएका थिए ।

फिल्म प्रदर्शनपछि दर्शकका जिज्ञासाहरूको उत्तर सम्बन्धित निर्माता-निर्देशकहरूले दिएका थिए । यसअघि निफले प्रि-इभेन्ट अन्तर्गत ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुई अन्तर्क्रियात्मक कार्यक्रम पनि आयोजना गरेको थियो।

महोत्सवका अध्यक्ष केपी पाठकले प्रि-इभेन्ट सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै अब चैत १९ गतेदेखि सुरु हुने महोत्सवका लागि अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले छिट्टै महोत्सवका विस्तृत कार्यक्रमहरू आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिने बताउनुभयो ।

यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको छ । वर्कसपमा प्रि-प्रोडक्सन, प्रोडक्सन र पोस्ट-प्रोडक्सन चरणमा एआईको प्रयोगबारे प्रशिक्षण दिइने जनाइएको छ । साथै फिल्म निर्माणमा एआईको सम्भावना र भविष्यबारे पनि छलफल गरिनेछ । इच्छुक व्यक्तिहरूले चैत ११ (मार्च २५) सम्म आवेदन दिन सक्नेछन् ।

यसैगरी, ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रममार्फत सर्ट फिल्म निर्माणमा अनुभव भएका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातासमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

 

आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछन् भने विभिन्न विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् । महोत्सवसम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।

Categorized in राष्ट्रिय