निबन्धकार प्रा. राजेन्द्र सुवेदीको स्मृति कार्यक्रम तथा कृति विमोचन
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ४, आइतबार
वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. राजेन्द्र सुवेदीको चौथो स्मृति दिवसका अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरियो । शनिबार काठमाडौँमा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रा. राजेन्द्र सुवेदी नेपाली साहित्यको समालोचना क्षेत्रका प्रतिनिधि समालोचक मात्र नभई एउटा प्रवृत्तिकै नेतृत्वकर्तासमेत हुनुहुन्थ्यो भन्नुभयो । साहित्य, ललितकला तथा चलचित्रका क्षेत्रका हस्तीहरुको समेत सहभागिता रहेको सो समारोहमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्ण न्यौपानेले स्व. सुवेदीको नेपाली केन्द्रीय विभागमा भएको योगदानबारे चर्चा गर्नुभयो भने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सुवेदीसितका आफ्ना संस्मरणको चर्चा गर्नुभयो । साथै समारोहमा प्रा. सुवेदीको मरणोपरान्त प्रकाशित पाँचौँ कृति भूमिका र समालोचनाको समेत विमोचन गरिएको थियो ।
प्रा. डा. रमेश भट्टराईले विमोचित कृतिमाथि सङ्क्षिप्त चर्चा गर्नुभएको थियो । समारोहका अन्य वक्ताहरुमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली तथा नूरगङ्गा प्रतिभा पुररस्कार गुठीका अध्यक्ष प्रा. डा. गोविन्द शर्मा हुनुहुन्थ्यो । राजेन्द्र सुवेदी स्मृति समाजका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरीको सभापतित्वमा भएको सो समारोह धीरकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
Categorized in साहित्य-कला

