STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निर्वाचनसम्म गठबन्धन कायमै : नेपाल

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २५, शनिबार

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा केही बेफाइदा र कमी–कमजोरी रहेपनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन् । शनिबार समाजवादी प्रेस संगठन, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

कमी–कमजोरी रहेपनि गठबन्धन समयको माग भएको बताउँदै उनले भनेका छन्, ‘पाँच दलीय गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा समाजवादी पार्टीले सफलता प्राप्त गरेको छ । जिल्ला समन्वय समितिमा पनि पुग्न सकिएको छ । राम्रो कुरालाई राम्रो भन्न सक्नुपर्छ । गठबन्धन आवश्यक छ ।’

यसका साथै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा मतपत्रका कारण धेरै मत बदर भएपनि समाजवादीले ९ लाख २७ हजार मत प्राप्त गरेको बताए । गठबन्धन कुर्दा स्थानीय तहमा ४० प्रतिशत स्थानमा मात्रै उमेदवारी दिएको उल्लेख गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन हुन नसक्ने क्षेत्रमा समाजवादी एक्लै चुनावमा होमिने पनि बताए ।

त्यस्तै अध्यक्ष नेपालले जनताबाट जनमत लिएर जितेका जनप्रतिनिधि जनतामुखी र जवाफदेही हुनुपर्ने बताए । उनले भनेका छन्, ‘पद लिएका व्यक्तिको आनीबानी, संस्कार र काम गराइको शैली परिवर्तन आवश्यक छ । हाम्रोमा सुरु भएको छ ।’

अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्री बनाइदिन भनेर कसैकहाँ नजाने पनि बताएका छन् । अध्यक्ष नेपालले गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन । अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ ।’

Categorized in राजनीति