STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निस्दीलाई शिक्षा वर्षका रूपमा मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार

पाल्पाको निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको छ । गत आर्थिक वर्षलाई सडक र चालू आर्थिक वर्षलाई कृषि वर्षको रूपमा मनाएको गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको हो । विकासका कामलाई निरन्तरता दिने क्रममा औसतमा हेर्दा पूर्वाधारमा रकम बढी देखिए पनि अन्य क्षेत्रको तुलनामा शिक्षामा लगानी गरी शिक्षा वर्षका रूपमा मनाउन लागिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । “गाउँपालिकाभित्रका सबै विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी योग्य र सक्षम नागरिक उत्पादन गर्न आगामी आर्थिक वर्ष शिक्षा वर्षका रूपमा मनाउन लागिएको छ”, अध्यक्ष सारुले भन्नुभयो । उहाँका अनुसार आगामी आवका लागि गाउँसभामार्फत सामाजिक विकासका लागि शिक्षामा रु एक करोड ७० लाख ३८ हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४७ करोड ६९ लाख चार हजार ५०० बराबरको बजेट सार्वजनिक गरेको छ । कूल बजेटमध्ये विकास बजेट रु १६ करोड ८४ लाख १८ हजार ७५० विनियोजन गरेको छ । गाउँपालिकाले राजश्वबाट रु १० करोड १६ लाख ८६ हजार, प्रदेश तथा सङ्घीय सरकारको वित्तीय अनुदानबाट रु २८ करोड ६४ लाख ३० हजार, जनसहभागिताबाट रु एक करोड २७ लाख ८८ हजार ५००, गत वर्षको मौज्दात रु एक करोड ६० लाख र सामाजिक सुरक्षा भत्ता रु छ करोडको आँकडा प्रस्तुत गरेको छ । कूल बजेटमध्ये चालू खर्च रु चार करोड २८ लाख ३० हजार, सशर्ततर्फ रु १९ करोड छ लाख, पूँजीगत खर्च रु १८ करोड ३४ लाख ७४ हजार ५०० र सामाजिक सुरक्षाभत्ता रु छ करोड विनियोजन गरेको छ । विकास बजेटमध्ये कृषितर्फ रु ७२ लाख ३९ हजार, पशु विकासतर्फ रु ६३ लाख ५८ हजार ७५०, उद्योग तथा वाणिज्यतर्फ रु आठ लाख, पर्यटन विकासतर्फ रु २० लाख र सहकारीतर्फ रु पाँच लाख गरी आर्थिक विकासका लागि रु एक करोड ६८ लाख ९७ हजार ७५० विनियोजन गरेको छ । स्वस्थ्यमा रु ६० लाख, खानेपानी तथा सरसफाइमा रु एक करोड नौ लाख ५० हजार, संस्कृति प्रवद्र्धनमा रु १० लाख, खेलकूद र मनोरञ्जनमा रु ३० लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा रु ८४ लाख ३५ हजार गरी रु चार करोड ६४ लाख २३ हजार विनियोजन गरेको छ । पूर्वाधारतर्फ स्थानीय सडक, पुल र झोलुङ्गे पुलका लागि रु छ करोड २८ लाख, सिँचाइमा रु ६९ लाख ५० हजार, भवन तथा शहरी विकासमा रु दुई करोड ७९ लाख, ऊर्जा तथा साना जलविद्युत्मा रु २४ लाख र सञ्चारमा रु दुई लाख ७५ हजार गरी रु १० करोड तीन लाख २५ हजार विनियोजन भएको छ । त्यस्तै वातावरण तथा विपत् व्यवस्थापनका लागि रु १८ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि रु २९ लाख ७३ हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाको कर्मचारी कार्यबोझअनुसारको सेवासुविधा तोक्न बनेको विधेयक, गाउँपालिकाको आर्थिक विधेयक, गाउँपालिकाको विनियोजन विधेयक तीन वटै विधेयक गाउँसभामा पारित भएको छ ।
Categorized in राष्ट्रिय