STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नृत्यले मन्त्रमुग्ध पार्ने तुलाधरको स्मृति

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

नेपाल प्रज्ञा–प्रतिष्ठानका सेवानिवृत्त कलाकार कृष्णमान तुलाधरको स्मृतिमा आज शोकसभा सम्पन्न भएको छ । अमेरिकामा बस्दै आउनुभएका श्रेष्ठको गत वैशाख २९ गते हृदयाघातका कारण ६६ वर्षका उमेरमा  निधन भएको हो । 
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, प्रज्ञाप्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठन, लोकतान्त्रिक कर्मचारी तथा कलाकार सङ्घ र प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित शोकसभामा  कलाकार मदनदास श्रेष्ठले तुलाधरको निधनले नृत्य र नाट्य क्षेत्रले  ठूलो क्षति भोग्नु परेको बताउनुभयो । सभामा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका  उपकुलपति हरिहर शर्माले  तुलाधरलाई परिश्रमी र प्रतिभावान् व्यक्तिका रुपमा चित्रण गर्नुभयो । “तुलाधर बिहान, साँझ घरमा बसेर काष्ठकलाको काम पनि गर्नुहुन्थ्यो”, शर्माले भन्नुभयो, “साह्रै रमाइलो हुनुहुन्थ्यो, तनाव कहिल्यै लिनुहुँदैनथ्यो ।”
  नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष धर्मराज कार्की, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारी, लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष अशोक चौरासिया र नृत्य कलाकार सङ्घका अध्यक्ष भुवन श्रेष्ठले तुलाधरको नृत्यले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा ख्याति पाएको र सबै मन्त्रमुग्ध हुने खालको भएको बताउँदै  नृत्य कलाकारहरुको तस्वीर सङ्कलन गरिने जानकारी दिनुभयो । 
तुलाधरले २०३१ सालमा तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानको ९ख० श्रेणीको कलाकारका रुपमा प्रवेश गर्नुभएको थियो । तुलाधरले भारत, श्रीलङ्का, पाकिस्तान, अमेरिका, फ्रान्स, स्विट्जरल्याण्ड, स्पेन, जर्मनीलगायत देशमा नृत्य प्रस्तुति दिनुभएको  थियो । नृत्यसँगै अभिनयका क्षेत्रमा पनि उहाँको उत्तिकै दख्खल थियो । गीतिनाटक ‘मालती मङ्गले’, ‘फर्केर हेर्दा’ , ‘जब घाम लाग्छ’ , ‘नृत्यवाटिका’ , ‘कुमारी’, ‘चण्डालिका’,‘अन्नपूर्ण’, ‘सती वृन्दा’, ‘शिवपार्वती’ लगायत  थुप्रै नाटकमा उहाँले अभिनय गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । 
Categorized in राष्ट्रिय