STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा सचिवालय बैठक बस्दै, ओलीकाे उपस्थितिकाे सम्भावना न्यून

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २०, शनिबार

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बस्ने भएको हो। बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको थियो।

आजको सचिवालय बैठक अगाडि प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन्। सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि छलफल गर्ने तयारी छ।

 

आजको बैठकमा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने सम्भावना बढेको छ। दुई अध्यक्षबीच समझदारी नहुँदासम्म बैठकमा सहभागी नहुने प्रधानमन्त्री ओलीको अडान रहेको उनी निकट स्रोतले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक अघि बढ्न सक्ने बताएका छन्।‘दुई अध्यक्षबीच कुनै पनि खालको समझदारी भएको छैन। त्यसैले प्रधानमन्त्री ओली आजको बैठकमा उपस्थित हुने सम्भावना कम छ,’ प्रधानमन्त्रीनिकट एक नेताले भने।

तर, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली नआएपनि बैठक नरोक्ने रणनीतिमा छ। ‘प्रधानमन्त्री उपस्थित नभएपछि आजको सचिवालय बैठक र मंसिर २१ का लागि बोलाइएको स्थायी कमिटी बैठक बस्छ,’ प्रचण्डनिकट एक नेताले भने।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली र ‘प्रचण्ड’बीच कात्तिक २५ यता संवाद ठप्प छ। कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा अध्यक्षबीच ‘छेडछाड’ र व्यङ्ग्य वाण मात्र चल्यो। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-पत्र’को संज्ञा दिएका छन्।

प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन्। ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ। ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन्। प्रचण्डले भने ओलीको एकल निर्णयले पार्टी र सरकार नचल्ने भन्दै आफ्नो अडानबाट टसमस नहुने प्रष्ट पारेका छन्। नेताहरू २० मंसिरसम्म सचिवालय बैठक रोकेर आ-आफ्ना तयारीसहित अनौपचारिक संवादमा जुटेका हुन्। मंसिर १६ गतेपछि अध्यक्ष ओली सचिवालय बैठकमा जान छाडेका छन् भने दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत-अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा लैजानुपर्ने बताइरहेका छन्।

दोस्रो तहका नेताहरू असारमा स्थायी समिति बैठकमा देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिकामा थिए। परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टी विवाद मिलाउन कार्यदलमार्फत एउटा ठोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए। तर, यसपटक उनीहरूको प्रयास सफल हुन सकिरहेको छैन। उनीहरूका दबाब अध्यक्षद्वयले स्वीकारिरहेका छैनन्।

नेकपामा विवाद बढ्दै जाँदा शीतल निवासको समेत सक्रियता देखिन थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विवाद समाधानका लागि दुई अध्यक्षलाई बिहीबार शीतल निवासमै बोलाएर छलफल गरेकी थिइन्। पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयको संवाद ठप्प भए पनि दुवै अध्यक्षका दूतहरुको दौडधुप व्यापक देखिन्छ। पार्टी विवादमा अनौपचारिक छलफललाई निरन्तरता दिने बताइएको भए पनि नेताहरुबीच गुटगत छलफल मात्र भइराखेको देखिन्छ।

Categorized in राजनीति