STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर १७, शनिबार

एजेन्सी - कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम नेदरल्यान्ड्स बनेको छ। चार वर्षअघि रुसमा भएको विश्वकपमा छनोट हुन नसेकेको डच टिम शनिबार राति भएको अन्तिम १६ को खेलमा अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

नेदरल्यान्ड्सले खेलेका पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनलमा पुर्याउन डम्फ्रिजले दुई असिस्ट र एक गोलसहित उत्कृष्ट प्रर्दशन गरे। डम्फ्रिजले दायाँतर्फबाट दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका मेम्फिस डिपाएले उत्कृष्ट फिनिसिङ गर्दै डच टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले पनि डम्फ्रिजकै पासमा उत्कृष्ट गोल गरे। नेदरल्यान्ड्सले पहिलो हाफमा गरेका दुवै गोल करिब उस्तै थिए।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा ७६औं मिनेटमा हाजी राइटले गरेको गोलसँगै अमेरिकाले स्कोरलाइन २–१ मा घटाएको थियो। तर, त्यसको पाँच मिनेट नबित्दै डम्फ्रिजले उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे।

चार वर्षअघि रुसमा भएको विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स २०१४ मा ब्राजिलमा तेस्रो भएको थियो। यस्तै, सन् २०१० मा दक्षिण अफ्रिकामा फाइनलमा स्पेनसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

नेदरल्यान्ड्सले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलियाको विजेतासँग खेल्ने छ। अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल पनि आज राति नै हुनेछ।

नेदरल्यान्ड्स समूह ‘ए’को विजेता तथा अमेरिका समूह ‘बी’को उपविजेताको रूपमा अन्तिम १६ मा आइपुगेको हो।

Categorized in खेलकुद