STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार

काठमाडौं – नेपालले जारी गरेको नयाँ नक्सालाई भारतले अस्वीकार गरेको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समावेश गर्दै बुधबार नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । नेपाल सरकारले सोमबार मन्त्रिपरिषबाट नयाँ नक्सा पारित गरेको थियो । भारतीय विदेश मन्त्रालयले बुधबारै विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्साबारे प्रतिक्रिया दिएको हो । ‘एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा समस्यालाई द्विपक्षीय कुटनीतिक संवादमार्फत समाधान गर्ने समझदारी विपरित छ’, जारी विज्ञप्तिमा भनिएको छ । भारतले यसलाई ‘कृतिम विस्तार’ को संज्ञा दिँदै तत्काल सच्याउन भनेको छ । नेपाल सरकारलाई पुष्टि हुन नसक्ने दाबीहरुबाट टाढा रहन र भारतको सार्वभौमसत्ता एवं भौगोलिक अखण्डताको सम्मान गर्न पनि विदेश मन्त्रालयले आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारत विरोध गर्दछ ।’ नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने पनि भारतको दाबी छ । यसअघि गत कात्तिकमा भारतले एकपक्षीयरुपमा नक्सा सार्वजनिक गर्दा नेपालले पनि भारतसामु यस्तै प्रकारको धारणा राखेको थियो । भारतले कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा सडक निर्माण गरेपछि सीमा मुद्दा पुनः सतहमा आएको हो ।
Categorized in राजनीति