STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जमा आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालीन कार्य सञ्चालन गर्न नेपालगञ्ज विमानस्थल परिसरमा फर्वार्ड लजिस्टिक बेस आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण गरिने भएको छ । 
गृहमन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विश्व खाद्य कार्यक्रम डब्लुएफपी द्वारा सञ्चालित हुने गरी प्रदेश नं ५ मा निर्माण गर्न लागिएको आपत्कालीन प्रतिकार्य केन्द्रको भवन बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री बेरोनेस एलिजाबेथ सगले आज शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा बोल्दै बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री सगले नेपालमा बाढी र भूक्षयजस्ता प्राकृतिक प्रकोपको द्रुत रुपमा काम गरी सर्वसाधारणको ज्यान बचाउन आपत्कालीन प्रतिकार्य केन्द्रले सघाउ पु¥याउने बताउनुभयो । “नेपालमा बाढी र भूक्षयजस्ता प्राकृतिक प्रकोपको ठूलो खतरा छ र गरीब समुदाय सबैभन्दा बढी जोखिममा छन्”, उहाँले भन्नुभयो, “हामी एउटा नयाँ आपत्कालीन प्रतिकार्य केन्द्र बनाउन विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दैछौँ, जसले सबैभन्दा आवश्यक भएको समयमा द्रुत रुपमा काम गरी धेरैको ज्यान बचाउन सघाउ पु¥याउने छ ।”
विश्व खाद्य कार्यक्रम नेपालका राष्ट्रिय निर्देशक पेपा ब्रयाडफोर्डले विपत् अगाडिको आपत्कालीन तयारीमा गरिने लगानीले समय र जीवन दुवैको बचत हुने भएकाले प्रदेशमा स्थापना हुने आपत्कालीन प्रतिकार्य केन्द्र, साथै सरकार र मानवीय सङ्घ–संस्थाको क्षमता अभिवृद्धिले प्रत्येक प्रदेशको बाढी पहिरोजस्ता विपत्को अवस्था सामना गर्ने स्तर तथा क्षमता बढाउने उल्लेख गर्नुभयो ।
नेपालगञ्ज विमानस्थल परिसरमा निर्माण शुरु गरिएको सो संरचना प्रदेश तथा राष्ट्रियस्तरमा आपत्कालीन कार्य सञ्चालन गर्न प्रदेशस्तरमा निर्माण गर्न लागिएको पहिलो आपत्कालीन प्रतिकार्य केन्द्र हो । नेपालका सातै प्रदेशका आ–आफ्नै आपत्कालीन प्रतिकार्य केन्द्र निर्माण गरी आवश्यक राहत सामग्रीको उचित भण्डारण गरी यस्ता सामग्री विपत्को अवस्थामा समयमै देशका कुना काप्चामा उपलब्ध गराउन सहयोग पु¥याउने छ ।
आठदेखि १० हजार मेट्रिक टन क्षमताको सो आपत्कालीन प्रतिकार्य केन्द्र छ हजार स्क्वायर फिट क्षेत्रफलमा निर्माण गर्न लागिएको छ । रु एक करोड २५ लाख लगानीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।
Categorized in राष्ट्रिय