नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित : नेवाः पत्रकार राष्ट्रिय दबू
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २९, बिहिबार
काठमाडौं– ईमेल च्यानल टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपालभाषाको समाचार बुलेटिन यही चैत १ गतेदेखि बन्द हुने निर्णयप्रति नेवाः पत्रकार राष्ट्रिय दबूले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
दबूका महासचिव सुनील महर्जनद्वारा बिहीबार (फागुन २९ गते) जारी एक विज्ञप्तिमा ईमेल च्यानलको नेपालभाषाको समाचार बन्दको निर्णय अनपेक्षित रहेको जनाइएको छ । च्यानलको यस निर्णयले नेपालभाषाका दर्शकलाई मात्र नभएर समावेशी सञ्चारका लागि क्रियाशील सबैलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नु सञ्चार क्षेत्रको दायित्व हो । यस परिप्रेक्ष्यमा ईमेज च्यानलले विभिन्न राष्ट्र भाषामा समाचार बुलेटिन प्रशारण गरेर यस क्षेत्रमा मुलुककै उदाहरणीय टेलिभिजन हुनेतर्फ सोच परिलक्षित गर्नुपर्नेमा उल्टै नेपालभाषाको समाचार बुलेटिन बन्द गर्ने निर्णय गर्नु सर्वथा अनपेक्षित कार्य हो ।”
नेपालभाषाबाट प्रशारण हुँदै आएको समाचार बुलेटिनले नेपाली सञ्चार क्षेत्र समावेश बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “ईमेज च्यानल आफ्नो गौरवमय इतिहास र समावेशिताको मानकबाट पछि हट्न खोजेको संकेतको रुपमा यस निर्णयलाई लिएका छौं ।”
नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको एक घटक संगठनका रुपमा रहेको पत्रकार राष्ट्रिय दबूले सो निर्णयप्रति पुनर्विचार गरियोस् भनेर वक्तव्यमा अपिल पनि गरेको छ ।
Categorized in राष्ट्रिय