नेपालभाषा फिल्म तथा संगीत क्षेत्रको सप्तरङ्गी सम्मान हस्तान्तरण
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार
काठमाडौं – नेपालभाषा फिल्म तथा संगीत क्षेत्रमा योगदान पुर्याउनेलाई सप्तरङ्गी सम्मान दिइएको छ ।
नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस् २०१९ को समापन समारोहमा उक्त सम्मान दिइएको हो ।
नेपालभाषा संगीत र फिल्म क्षेत्रमा अतुलनीय योगदान दिएका अभिनेता जय श्रेष्ठ, सिनेपत्रकार विजयरत्न असंबरे, राजमति फिल्मका अभिनेत्री हिसिला महर्जन, संगीतकार मनराजा नकःमि, मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठ, गायक जुजुकाजि रंजित र निर्देशक पवन जोशी सप्तरङ्गी सम्मानबाट सम्मानित भएका हुन् ।
सम्मानित व्यक्तित्वहरुलाई गत फागुन १६ गते शुक्रबार एक कार्यक्रमबीच नेपाल सरकारको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा सम्मानपत्र प्रदान गरिएको थियो ।
नेपालभाषा फिल्म र संगीत क्षेत्रको ठूलो अवार्डको रुपमा लिइएको सो अवार्ड गत माघ १० गते काठमाडौंको प्रज्ञाभवनमा एक कार्यक्रमबीच हस्तान्तरण गरिसकेको थियो । लामो समयदेखि नेवार फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका स्वतन्त्र संसार महर्जनको संसार क्रिएसन्सको आयोजनामा उक्त अवार्ड कार्यक्रम भएको हो ।
अवार्ड कार्यक्रममा सहयोग गरेका व्यक्ति तथा संघसंस्था तथा संचारमाध्यमलाई धन्यवाद र प्रमाणपात्र दिन समापन कार्यक्रम आयोजना संसार क्रिएसन्सनका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले जानकारी दिएका छन् । उनका अनुसार अवार्ड कार्यक्रममा अवार्ड जित्ने सबैलाई शुभकामना पत्र दिन बाँकी रहेकोले समापन कार्यक्रम आयोजना गरिएको हो । उनका अनुसार यो अवार्ड कार्यक्रमले विश्वकै लामो फिल्म अवार्डको रुपमा विश्वरेकर्ड राख्ने प्रयासमा लागेको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि मानन्धरले स्वतन्त्र संसारले नेवार फिल्म र संगीत क्षेत्रामा पु¥याउँदै आएको योगदानको तारिफ गरेका छन् । “बिरामी परे पनि नेपालभाषा कला क्षेत्रमा स्वतन्त्र संसारले गर्दैै आएको कामको तारिफ गर्नैपर्छ,” मानन्धरले भने ।
कार्यक्रममा विशिष्ट पाहुनका रुपमा मदनकृष्ण श्रेष्ठ, ललितपुर २१ वडा खोनाका वडाध्यक्ष रविन्द्र महर्जन, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का तथा सम्मानित विजयरत्न असंबरेले मन्तव्य राखेका थिए ।
नेवार जादुगर सानु ताम्राकारले जादु देखाएको कार्यक्रममा सुजना वज्राचार्य, यचु शाक्य र सुजन वज्राचार्यले नृत्य पनि प्रस्तुत गरेका थिए ।
Categorized in सिनेमा


