नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको कामकाजी भाषा बनाइने
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २०, शुक्रबार
काठमाडौं – नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको कामकाजी भाषा बनाउन मन्त्रिमण्डलमा छलफल हुनेभएको छ ।
खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरले जनजातिखबरडटकमका संवाददातलाई दिनुभएको जानकारी अनुसार भाषा आयोगबाट सिफारिस भइआएबमोजिम प्रदेशको कामकाजी भाषाको निर्णय गर्न मन्त्रिमण्डलको बैठकमा छलफल हुन लागेको हो ।
आइतबार बस्ने मन्त्रिमण्डलको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भाषा आयोगको सिफारिस बमोजिम कार्यान्वयन गराउन मन्त्रिमण्डलमा एजेण्डा राखिने भएको छ । मन्त्री मानन्धरका अनुसार सोही मन्त्रिमण्डलको बैठकमा वाग्मती प्रदेशको कामकाजी भाषाको टुंगो लगाइनेछ ।
भाषा आयोगले यसअघि वाग्मती प्रदेशको कामकाजी भाषाको रुपमा नेपालभाषा र तामाङ भाषालाई प्रयोगमा ल्याउन सिफारिस गरिसकेको छ । तर भाषा आयोगको सो सिफारिस कार्यान्वयन हुन सकेको छैन ।
स्मरणीय छ, केही दिनअघिको प्रदेश सभाको बैठकमा समेत यस विषयमा छलफल भइसकेको थियो ।
यसअघि नेपालभाषा र तामाङ भाषालाई प्रदेशको कामकाजी भाषाको रुपमा राख्न आदिवासी जनजाति महासंघलगायत विभिन्न तामाङ तथा नेवार संघसंस्थाहरु प्रदेशका मुख्यमन्त्रीसमक्ष डेलिगेशन गइसकेका थिए ।
Categorized in राजनीति

