नेपाली मौलिकता झल्कने गरी संरचना निर्माण गर्न प्रस्तुत प्रस्तावमा छलफल
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार
राष्ट्रियसभाको आजको बैठकमा सांसद डा विमला पौड्यालले ‘पर्यटनसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्न’ प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल शुरु भएको छ ।
छलफलमा सहभागी सांसदले भौतिक संरचना निर्माण गर्दा नेपाली मौलिकता झल्कने गरी निर्माण गर्नुपर्ने सांसद डा राईको प्रस्तावको समर्थन गर्दै सोसँग सम्बन्धित विषयमा जिज्ञासा राख्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेशकुमार भट्टराईले सो प्रस्तावमाथि उठेका प्रश्नको उत्तर दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्त्री भइसकेपछि पहिलोपटक राष्ट्रियसभामा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मौलिक संस्कृति र नेपालका प्रमुख विशेषतालाई झल्काउने खालको विविधतालाई समेट्ने तयारी भएको बताउनुभयो ।
मन्त्री भट्टराईले मौलिक कला र संस्कृति जोगाइराख्न भूकम्पबाट क्षतिग्रस्त २७८ सम्पदा पुनर्निर्माण भइसकेको र दुई वर्षभित्र ३८९ सम्पदा पुनर्निर्माण गर्ने तयारी भएको स्पष्ट पार्नुभयो । पुनर्निर्माणमा नेपालबाट मात्र नभई दातृ राष्ट्रबाट पनि सहयोग आउने भएकाले समयमै निर्माण गर्न कठिनाइ हुने जानकारी दिँदै उहाँले नेपालको मौलिक कला र संस्कृतिको संरक्षणमा जोड दिन सबै मन्त्रालय र सरोकारवालापक्षसँग आग्रह गर्नुभयो । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकिएको सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्योपचारका लागि सिङ्गापुर जानुभएकाले दैनिक प्रशासनिक कामकारवाहीका लागि नेपालको संविधानअनुसार उपप्रधानमन्त्री पोखरेललाई कार्यभार तोकिएको थियो ।यसैगरी प्रधानमन्त्रीको सिफारिसमा संस्कृति, मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिइएको बारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २६ गते अपराह्न १ बजे बस्नेछ ।
Categorized in राष्ट्रिय


