STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २३, सोमबार

नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ । नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक एवं वाह्य पर्यटनको आकर्षणका रुपमा लैजाने बताउनुभयो । उहाँले आफू मन्त्री हुँदा पहिलो महीनाको तलब दिएर निर्माण शुरु भएको पञ्चकन्या मन्दिर परिसरमा अहिले नेपाली सेनाले पानी ट्याङ्की र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको जानकारी दिनुभयो । पृतनापति श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्वको काम पनि इमान्दारीपूर्वक गर्दै आएको बताउनुभयो । वीर दल गणका गणपति शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरी पाँच हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिनुभयो । करीब रु छ लाखको लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजनाअन्तर्गत रु एक लाख ५० हजार, वीर दल गणको रु ६० हजार तथा वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा सो पानी ट्याङ्की र सत्तल निर्माण गरिएको उहाँले बताउनुभयो । सो पानी ट्याङ्की र सत्तल आज पञ्चकन्या मन्दिर विकास समितिलाई हस्तानान्तरण गरिएको पनि उहाँले जानकारी दिनुभयो । गणपति पौडेलले चाँगुनारायण नगरपालिका– २ झौखेलमा पनि वीर दल गणले ३०० जना क्षमता रहेको सामुदायिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने चरणमा रहेको बताउनुभयो । वडा नं ९ का अध्यक्ष उपेन्द्र केसीले विकास निर्माणमा नेपाली सेनाको सहयोग पाउनु खुशीको विषय भएको बताउँदै नेपाली सेनासँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताउनुभयो ।
Categorized in राष्ट्रिय