नेपाल मानवअधिकार चलचित्र महोत्सवकाे १३अौं संस्करण सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष २, बुधबार
चलचित्र विकास बोर्डको सहकार्यमा Human Rights Film Centre द्वारा आयोजित १३ औं नेपाल मानवअधिकार चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
समापन समारोहमा नेपालका लागि व्रिटेनका राजदूत महामहिम Rob Fenn लाई नेपाली चलचित्र छायांकनका सम्भावना र विवरण समेटिएको पुस्तक “Filming in Nepal” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीद्वारा उपहार प्रदान गरियो। कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश प्रसाद सुवेदीको समेत सहभागिता रहेको थियो।
महोत्सवमा रिहाना (निर्देशक: सुरज पौडेल) ले नेपाली पानोरमा अवार्ड जित्न सफल भयो। ग्रामीण परिवेशमा छायांकन गरिएको यस फिल्मले १३ वर्षीया बालिकाको कथामार्फत यस वर्षको मुख्य थिम ‘बालअधिकार’ लाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
यसैगरी, अनुष्का अर्याल ले उत्कृष्ट नेपाली महिला निर्देशक र नानी सारा वाकर ले जुरी मेन्शन अवार्ड प्राप्त गर्नुभयो।
महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट एल मिना, उत्कृष्ट फिक्सन सर्ट डन्ट बी लेट माइरा र उत्कृष्ट फिचर लाप्टिन घोषित भए।
२५ मंसिरदेखि काठमाडौंमा सम्पन्न महोत्सवमा २६ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिएका थिए। चलचित्र विकास बोर्ड तथा Nepal Tourism Board का हलहरूमा प्रदर्शन भएका चलचित्रहरूमा कान्स, बर्लिनाले, बुसान जस्ता विश्वचर्चित महोत्सवमा प्रदर्शित चलचित्रहरू समेत समावेश थिए।
चलचित्र, मानवअधिकार र अन्तर्राष्ट्रिय सहकार्यलाई जोड्दै सम्पन्न यो महोत्सवले नेपाली सिनेमा र सामाजिक चेतनामा महत्वपूर्ण योगदान पुर्याएको छ।
Categorized in सिनेमा

