STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १२, बुधबार

काठमाडौं - नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौता भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापश्चात सोल्टी होटलमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतारका समकक्षीबीच हस्ताक्षर गरेका हुन्। भेटवार्तापछि दुई देशबीचका खेलकूद, विज्ञान प्रविधि, सञ्चार (राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी), कूटनीतिक तालिम, शिक्षा, कला र संस्कृतिको क्षेत्र लगायतका विषयमा पनि सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच पनि सम्झौता भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानी द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको हो।

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।प्रधानमन्त्री प्रचण्डसँगको भेटमा थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेको भन्दै नेपाली श्रमिकहरूको उच्च प्रशंसा गरेका थिए।

राष्ट्रपति पौडेलको निमन्त्रणामा मंगलबार दुईदिने भ्रमणमा आएका कतारका अमिर थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेटवार्ताका लागि सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। अमिर थानीलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै पुगेर स्वागत गरेका थिए। थानीको सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदा नै दिएको थियो।

थानीको भ्रमण टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी रहेका छन्।

त्यस्तै, एसिया तथा अफ्रिका लगानी मामिला हेर्ने शेख फैसल बिन थानी अल्थानी, परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने निर्देशक युसुफ सुल्तान लारम, सुल्तान बिन घानिम अलोदिफी, अमिरी विभागका सहायक निर्देशक तलाल बिन अलाम्स अल सुलैती र राजाका प्रमुख स्वकीय सचिव मन्सुर फेलाह अल हाजिरी भ्रमण टोलीमा सहभागी छन्।

Categorized in राजनीति