नेपाल संवत्को नववर्ष र नेवार चाडपर्वमा एकरुपता ल्याउन छलफल
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २, आइतबार
काठमाडौं– नेपाल संवत्को नयाँ वर्षलगायत चाडपर्वको तिथिमिति गोलमाल हुँदै आएकोमा यसमा एकरुपता ल्याउन एक छलफल कार्यक्रम भएको छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४० को आयोजनामा काठमाडौंस्थित नेपाः ब्यांक्वेटमा आइतबार (चैत २ गते) बिहान उक्त छलफल कार्यक्रम भएको थियो ।
समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको छलफलमा नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ, नेवार अगुवा मल्ल के सुन्दर, न्हूदँ राष्ट्रिय समारोह समितिका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु डा. त्रिरत्न मानन्धर, तीर्थराम डंगोल, डा. चुन्दा वज्राचार्य, राष्ट्रिय विभूति शंखधर प्रतिष्ठान ठिमीका पूर्वअध्यक्ष श्याम मानन्धर, ज्ञानुराम श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरज वज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, न्हूदँ राष्ट्रिय समारोह समितिका सदस्यहरु सुजीव वज्राचार्य, नानीहिरा प्रजापतिलगायत न्हूदँ आन्दोलनका सक्रिय अगुवाहरुको उपस्थिति रहेको थियो ।
नेपाल संवत् ११४१ को नववर्ष र भाइटीका एकै दिन परेकोले त्यसमा एकरुपता ल्याउने, नेपाल सरकारसँग न्हूदँ समारोह समितिले विभिन्न समयमा राखेका मागहरु पूरा गराउने, शंखधर साख्वाःको तस्बिर एवं शालिकमा एकरुपता ल्याउने तथा शंखधर प्रतिष्ठानलाई वृहत् रुपमा अगाडि बढाउने मुख्य एजेण्डामा उक्त छलफल कार्यक्रम भएको थियो ।
छलफलमा नेवार अगुवा मल्ल के. सुन्दरले नेपाल संवत्को नववर्षको तिथिमा एकरुपता ल्याउन नववर्ष मनाउने सबै पक्ष एकजुट भई अघि बढ्नुपर्ने विचार राखेका थिए । शंखधरको शालिकको एकरुपताको सम्बन्धमा शालिक एवं तस्बिर प्रकाशन गरिरहेका संघसंस्थाहरुलाई यो विषय बुझाउनुपर्ने विचार उनले राखेका थिए । यसैगरी सरकारसँग एकैपटक धेरै मागहरु अगाडि राख्नुको सट्टा मुख्य एउटा मागलाई अगाडि सारेर न्यूनतम त्यो एउटा माग पूरा गर्न दबाब दिइनुपर्ने विचार मल्ल के. सुन्दरले राखेका थिए ।
डा. त्रिरत्न मानन्धरले भित्तेपात्रोमा जे लेखिए पनि, जस्तो तिथिमिति राखिए पनि त्यहाँ नेवाः संस्कृतिअनुसार यो–यो चाडपर्व मनाउने कुरा उल्लेख हुनुपर्नेमा जोड दिएका थिए । यसो भएमा मात्र नेवार चाडपर्व मनाउनेमा एकरुपता आउने विचार मानन्धरले राखेका थिए ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले शंखधर साख्वाःको नाममा प्रतिष्ठान गठन भइसकेकाले यसैलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । यसको लागि छुट्टै ऐनको व्यवस्था गर्न सरकारसँग कुरा भइसकेको जानकारी पनि मानन्धरले दिएका थिए ।
नेपाल संवत् नववर्षको मिति गोलमालको समस्या समाधानमा नेवार समाज नै बाधक रहेको आरोप पनि मानन्धरले लगाएका छन् । मानन्धरका अनुसार नेवारहरुबीच एकता नभएको, काठमाडौं–पाटन–भक्तपुर तीनै सहरबीच चाडपर्व मनाउने विषयमा कुरा नमिल्ने आदि कारण नै तिथि गोलमालको मुख्य समस्या हो । नेवारबीच एकता भएमा तिथि गोलमालको समस्या समाधान हुने बताउँदै उनले भने, “हाम्रा माग राज्यपक्षबाट पूरा गराउन सकिन्छ, तर हामीबीच नै एकता नभएमा यो समस्या समाधान हुनैसक्दैन ।”
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले तिथिमा एकरुपता, सरकारसँगका माग आदि सबै समस्या समाधानको थलो न्हूदँ राष्ट्रिय समारोह समितिले गर्ने भनिरहेको राष्ट्रिय भेला रहेको बताएका थिए । राष्ट्रिय भेलाको आवश्यकतामा जोड दिँदै न्हूदँ समारोह समितिले राष्ट्रिय भेला आयोजना गरेमा नेवाः देय् दबूले आवश्यक सहयोग गर्ने वचन पनि उनले दिएका थिए । ताम्राकारले भने, “राष्ट्रिय भेलाबाटै सबै समस्याको समाधान हुन्छ ।”
छलफल कार्यक्रममा डा. चुन्दा वज्राचार्यले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको विषय महानगरपालिकाको स्थानीय पाठ्यक्रममा समावेश भइसकेको जानकारी दिएका थिए । सो पाठ्यक्रम लागू भएपछि स्थानीय विद्यालयमा शंखधर साख्वाःबारे पढ्न, जान्न पाइने जानकारी पनि वज्राचार्यले दिएका थिए ।
छलफल कार्यक्रमलाई न्हूदँ राष्ट्रिय समारोह समिति व्यवस्थापन समितिका सदस्य उमेश स्थापितले सञ्चालन गरेका थिए ।
Categorized in राष्ट्रिय