STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल संवत लेटरप्याडमा र मन्त्रिपरिषदको माइनेटमा प्रयोग गर्नु ठूलो कुरा हैन : प्रम शेरबहादुर देउवा

Janjati Khabar – Lalendra Shakya | २०७८ कार्तिक ८, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत  प्रधानमन्त्रीको लेटरप्याडमा प्रयोग गर्नु र मन्त्रिपरिषदको बैठकले गर्ने विभिन्न निर्णयको निर्णय पुस्तिकामा नेपाल संवतलाई पनि प्रयोग गर्ने कुरा ठूलो नभएको विचार राख्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उक्त विचार आज सोमबार नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष निरञ्जनरत्न शाक्यको नेतृत्वमा न्हूदँ समारोह समितिका सदस्यहरु सहभागी प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गरी राख्नुभएको हो ।

प्रधानमन्त्री देउवाले यसरी आफ््नो विचार राख्नुहुँदै आफ्नो स्वकीय सचिवलाई तत्काल यसबारे विचार गरी कार्य सम्पादन एवं कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

नेवाः अगुवा साथै नेपाल संवत आन्दोलनका अग्रज मल्ल के सुन्दरले प्रधानमन्त्री देउवालाई नेपाल संवत ११४२ नयाँ वर्षको  उपलक्ष्यमा र उहाँको कार्यकालमा कम्तीमा पनि प्रधानमन्त्रीको लेटरप्याडमा नेपाल संवत प्रयोग गर्न, मन्त्रिपरिषदको निर्णय पुस्तिकामाम नेपाल संवत पनि उल्लेख गर्न र नेपालको नोटमा नेपाल संवत राख्न अनुरोध गर्नुभएको हो । यसरी नेवाः अगुवा सुन्दरले गर्नुभएको अनुरोधलाई लिई तत्काल नै प्रधानमन्त्री  देउवाले दुईटा काम तत्काल गर्ने गरी सकारात्मक विचार पोख्नुभएको छ ।

न्हूदँ समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले नेपालको मौलिक संवत नेपाल संवतको नयाँ वर्षको उपलक्ष्यमा आउँदो कछलाथ्व पारु कार्तिक १९ गते शुक्रबार काठमाडौंको बसन्तपुरमा हुने शुभकामना सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन अनुरोध गर्नुभएको थियो भने प्रम देउवाले आफू उक्त शुभकामना सभामा उपस्थित हुने बचन दिनुभएको छ ।

त्यस्तै, समारोह समितिले हस्तान्तरण गरेको नेपाल संवत बारे ध्यानाकर्षण पत्रलाई प्रम देउवाले सकारात्क रुपबाट लिनुभएको थियो ।

न्हूदँ समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यको नेतृत्वमा समारोह समितिका सल्लाहकार, पूर्वमन्त्री, सांसद भिमसेनदास प्रधानले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल संवतको महत्व र जनस्तरबाट यो संवतलाई लिई गरिरहेको अभियानको विषयमा जानकारी दिनुभएको थियो ।

समारोह समितिका सदस्य नविन मानन्धरले न्हूदँ समारोह समिति ११४२ को तर्फबाट औपचारिक रुपमा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र वाचन गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय