STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्यूनदृष्टियुक्तलाई प्रोत्साहन गर्न साङ्गीतिक कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २३, सोमबार

न्यूनदृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । सेतो छडी बोक्ने दृष्टिविहीनलाई ‘विचरा’ मात्र देख्नेको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणस्वरुप आइतबार यहाँ आयोजित कार्यक्रममा ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रम आयोजना गरी दृष्टिविहीन भएका व्यक्तिले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभयो । न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको हितका लागि डेढ दशकदेखि नेपाल र भारतमा काम गर्दै आउनुभएकी अभियानकर्मी साराह गिरीले सो कार्यक्रमको आयोजना गर्नुभएको हो । अभियानकर्मी गिरीले वास्तवमा अपाङ्गता वा दृष्टिविहीनसँग आफ्नै क्षमता हुन्छ उनीहरु विचरा होइन भन्ने सन्देश दिनका लागि पनि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका गल्फ, पौडी, स्किङ, सगरमाथा आरोहण र खानाका परिकार बनाउने प्रतियोगिताका विश्व विजयी तथा उत्कृष्ट व्यक्तिको सफलताका कथाहरु प्रस्तुत गरिएको थियो । यसैगरी न्यून दृष्टियुक्त व्यक्ति प्रधानन्यायाधीश, वकिल, आइटी डिजाइनर, सफ्टवेयर विज्ञ, उद्योगी तथा विभिन्न अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत उदाहरणीय व्यक्तिको पनि सो कार्यक्रममा परिचय दिइएको थियो । ‘एविलिज फाउण्डेशन’को देशीय संयोजक वीरेन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेलगायतले दृष्टिविहीन भएका व्यक्तिको अधिकार सुनिश्चिततामा जोड दिनुभयो । अमेरिकी अडियो विस्तृतीकरण परियोजनाका निर्देशक डा जोयल स्यान्डरले श्रव्य प्रविधिको माध्यमबाट सबै कुरा थाहा पाउने प्रविधिको नेपालमा विकास गर्ने मार्गचित्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र नेकपाकी नेत्री पम्फा भुसाललगायतको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय