पञ्चाङ्ग समितिद्वारा तिहारको साइत सार्वजनिक
Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ३, बिहिबार
काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ ।
धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ ।
कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो ।
लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ । कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ । कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो ।
यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवार समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ । यस दिन साइत खोज्नेले बिहान ११ : ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।
नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन् ।
Categorized in राष्ट्रिय

