STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पद्म ज्योति ग्रुपको सुरुवातसँगै ज्योति समूह विभाजित

Janjati Khabar – Janjati Khabar | २०८१ पौष १, सोमबार

काठमाडौं - नेपालको उद्यम क्षेत्रमा लामो इतिहास बोकेको ज्योति ग्रुपको विरासत चौथो पुस्तासम्म आइपुग्दा विभाजित भएको छ । ज्योति ग्रुपको स्थापना सन् १९४० मा भएको थियो । 

तर यसको जरा सन् १९२० मा स्वर्गीय भाजुरत्न कंसाकारले सुरू गरेको व्यापार कम्पनी स्यामुकापुमा आधारित छ । त्यतिबेला नेपाल र तिब्बतबीच व्यापार गर्न सन् १९२० मा उनले स्यामुकापु कम्पनीको स्थापना गरेका थिए ।

उनका छोरा स्वर्गीय मणिहर्ष ज्योतिले सन् १९४० मा उक्त व्यापार कम्पनीलाई ज्योति ग्रुपका रुपमा विस्तार गरेका थिए ।

मणिहर्ष ज्योतिले स्थापना गरेको ज्योति ग्रुप अन्तर्गत सन् १९६१ मा नेपालकै पहिलो फलाम र स्टिल उद्योग हिमाल आइरन तथा स्टिल उद्योग, सन् १९६७ मा नेपालकै पहिलो सिमेन्ट उद्योग हिमाल सिमेन्ट, पहिलो अक्सिजन उत्पादक कम्पनी हिमाल अक्सिजनलगायत कम्पनीको स्थापना गरेको थियो ।

ज्योति ग्रुपले सन् १९६७ मा नेपालमा होन्डा मोटरसाइकलको आयात समेत थालेको थियो ।

सन् १९८२ मा वायर उद्योग, सन् १९८९ मा स्पिनिङ मिल, सन् १९९३ मा बुटवल पावर कम्पनी, सन् १९९६ मा सगरमाथा इन्स्योरेन्सलगायत गरी सन् २०२१ मा मिडिया कम्पनी वाव एन्ड बिजेनस ३६० म्यागजिनसम्म व्यापार विस्तार गरेको छ ।

हाल ज्योति ग्रुपको व्यवसाय व्यापार, अटोमोटिभ, उत्पादन, स्वास्थ्य, फाइनान्स, हाइड्रो, सेवा, मिडिया, एफएमसीजी, फिटनेसदेखि हस्पिटालिटीसम्म छ । स्वर्गीय मणिहर्ष ज्योतिले सुरु गरेको ज्योति ग्रुपको विरासत दुई छोरा जेठा पद्म ज्योति र कान्छा रुप ज्योतिसम्म राम्रै चल्यो ।

पद्म ज्योतिका दुई छोरा सौरभ ज्योति र सुह्रिद ज्योति एवं रुप ज्योतिकी छोरी सुरुची ज्योतिसम्म चौथो पुस्तामा आइपुग्दा भने ज्योति समूह विभाजित भएको छ ।

अहिले जेठा पद्म ज्योति परिवारले आफु अन्तर्गतका उद्योगलाई पद्म ज्योति ग्रुपका नामले चिनाउने गरी रुपान्तरण गरेको हो ।

पद्म ज्योति ग्रुपमा रुपान्तरण एवम् नयाँ लोगो सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ग्रुपका मानार्थ अध्यक्ष पद्म ज्योतिले ‘एक चर्चित ग्रुपको नयाँ सुरुवात’ भएको बताए । उनले पाँच वर्षअघि पारिवारिक विधान बनाएको र अहिले त्यसैअनुसार अघि बढ्न सजिलो भइरहेको बताएका छन् ।

उनले समग्र ज्योति ग्रुपको सफलताको कामना गर्दै विगतभन्दा पनि नयाँ पुस्ताको सुन्दर भविष्यका लागि एकजुट भएर अघि बढ्न चाहेको बताए ।

आफ्ना काका (रुप ज्योति)सँगको पारिवारिक समस्या रहेको स्वीकार गर्दै पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले परिवर्तन आवश्यक रहेको बताएका छन् ।

“परिवर्तन आवश्यक छ, परिवर्तन हुन सकिएन भने अस्तित्व लोप हुन्छ,” कार्यक्रममा बोल्दै सौरभ ज्योतिले भने ।

“हामी महत्वपूर्ण मोडमा छौं । पद्म ज्योति समूह विकासतिर लागिरहेका छौं, वृद्धिको गतिमा छ, उत्पादनशिल उद्योगमा लगानी गर्दैछौं र उद्यमशिलता विकासगर्नेतिर लक्षित छौं,” उनले भने । उनले इमान्दारिता र लगनशीलताका साथ आफुहरु अघि बढ्ने बताएका छन् ।

पद्म ज्योति ग्रुपको बोर्ड सदस्यमा अध्यक्ष पद्म ज्योति रहेका छन् भने, मिरा ज्योति लगानीकर्ता एवं सीएसआर तथा सामाजिक पहल इन्चार्ज छिन् । सौरभ ज्योति र सिर्जना शाक्य एवं सुह्रिद ज्योति र आरती ज्योति पनि निर्देशक एवं लगानीकर्ताकारुपमा पद्म ज्योति ग्रुपको बोर्डमा छन् ।

Categorized in बिजनेस