STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २७, बिहिबार

माघ २७, काठमाडौं - कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा आज जारी सूचनामा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोरोना संक्रमण बढ्न थालेपछि यही माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको छ ।

Categorized in उपत्यका