पहाडी नेपाली कागज बिक्री नहुँदा उद्योग नै सङ्कटमा
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार
एक दशक अघिबाट उत्पादन गरेको नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग सङ्कटमा परेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा सङ्कटमा परेको सञ्चालक राइमले ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा सङ्कटमा परेको हो ।
आर्थिक वर्ष ०६२र०६३ मा स्थापना भएको उद्योगले स्थानीय उत्पादनको प्रयोग गर्दै नेपाली कागज उत्पादन गर्दै आएको छ । उत्पादित वस्तु मङ्हगो भएको भन्दै बिक्री भएको छैन । विगतमा लोक्ताबाट नेपाली कागज उत्पादन गर्दै आएकोमा उद्योगले यो वर्षदेखि मकैबाट कागज उत्पादन गरेको छ । झण्डै १० हजार प्रति उत्पादन गरिएको भए पनि बिक्री भने भएको छैन ।
विगतमा गरिबी निवारण कोष, लघु उद्यम, घरेलु तथा साना उद्योग विकास समिति, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलगायतको सहयोगमा स्थापना गरिएको उद्योगको सामग्री बिक्री वितरणको व्यवस्थापन नहुँदा धरासायी अवस्थामा पुगेको ठगुन्ना बताउनुहुन्छ । अहिले उद्योगमा समूहका छ जनाले रोजगारी पाएका छन् । तर उत्पादन गरिएको सामग्री बिक्री नहुँदा समस्या भएको उहाँको गुनासो छ ।
उद्योगले मकै, गहुँ, जौ, लोक्ता र धानको पराललगायतका कच्चा पदार्थबाट कागज उत्पादन गर्ने गरेको छ । “नेपाली कागजलाई चाहिने कच्चा पदार्थ स्थानीयस्तरमा प्रशस्त मात्रा छ, तर बजारीकरण छैन”, स्थानीयवासी अमरसिंह ठगुन्नाले भन्नुभयो ।
यस क्षेत्रमा उत्पादन गरिएको सामग्री बिक्रीका लागि प्रवद्र्धन हुन नसक्दा रोजगारी गुम्ने अवस्थामा पुगेको ठगुन्ना बताउनुहुन्छ । “स्थानीय उत्पादनलाई सरकारी कार्यालयले प्रयोग गरे हाम्रो पनि रोजगारी रहन्थ्यो”, उहाँको भनाइ छ ।
यो वर्ष नौगाड गाउँपालिकाले उत्पादित कागज खरिद गर्ने तयारी गरे पनि प्रिन्टरले काम नगर्दा खरिद गरेन । गाउँपालिकाले हालसम्म उद्योग प्रवद्र्धनमा भने सहयोग नगरेको सञ्चालक ठगुन्नाको गुनासो छ ।
गतवर्ष सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले ५०० प्रति नेपाली कागज खरिद गरेको थियो । अहिले गाउँमा उत्पादन गरेको नेपाली कागज प्रति रु १० मा बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
उल काडिङ मेसिन प्रयोगविहीन
घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाले दुई दशकअघि खरिद गरेको उल काडिङ मेसिन प्रयोगविहीन बनेको छ । विसं २०५३ मा भारतको रुदिआनाबाट झण्डै रु ५० लाख लागतमा खरिद गरिएको मेसिन प्रयोगविहीन बनेको हो ।
मेसिन सञ्चालनका लागि पहल नहुँदा वर्षौँदेखि मेसिन कार्यालयको गोदामै थन्किएको कार्यालय प्रमुख गङ्गा मगरले बताउनुभयो । नेपालसँगै भारत र चीनसमेतको कच्चा पदार्थ ल्याएर दैनिक ७० किलोग्रामसम्म उन प्रशोधन गर्ने मेसिन अहिले मर्मत सम्भारमा ध्यान नदिँदा थन्किएको छ ।
काडिङ मेसिन सञ्चालनको लागि सरकारले बजेट विनियोजन गरेको छैन । जिल्लामा उत्पादन हुने कच्चा सामग्री सङ्कलन गरेर मेसिन प्रयोगमा ल्याउन सके स्थानीयको रोजगारीसमेत सिर्जना गर्न सकिने मगरको भनाइ छ ।
जिल्लामा उन र अल्लोलगायतका कच्चा पदार्थ भए पनि उद्योग स्थापना नहुँदा सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय


