पहिलोपटक चिकित्सकलाई कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा नेपालमा पहिलोपटक एक चिकित्सकसमेत परेका छन् ।
ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका थिए । ती चिकित्सक रोग नियन्त्रण महाशाखाको फिल्डमा कार्यरत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
संक्रमित चिकित्सकको बारेमा बुझ्न स्वास्थ कार्यालयका तथ्यांक अधिकृत राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा पुगेका छन् ।
मंगलबार ती चिकित्सकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । संक्रमितमध्ये झापाका ९ जना छन् भने काठमाडौं ३, भक्तपुर एक जनामा कोरोना पोजिटिभ देखिएको छ । सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ ।
योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३४० पुरुष र ६२ महिला छन् । ३७ जना भने निको भएका छन् । नेपालमा दुई जनाको भने मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय