STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ शहरतिर

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ९, बिहिबार

पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक जिल्ला बाहिर शहरी क्षेत्रमा स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । किसानका स्याउ बारीमै कुहिने अवस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६०० क्विन्टल ढुवानी अनुदानमार्फत बजारसम्म पु¥याउन शुरु गरेको हो । सहकारी संस्थामार्फत बारीबाट बजारसम्म स्याउ ढुवानी हुन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । ढुवानीको जिम्मा सहकारी संस्थाले लिएको नवजीवन सहकारी संस्थाका अध्यक्ष महेश शाहीले बताउनुभयो । पहिलोपटक काठमाडौँमा १०० क्विन्टल, धनगढीमा ६० क्विन्टल लगिएको छ । बाँकी मार्तडी, कोल्टीलगायतका बजार पु¥याइने भएको छ । ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरीददेखि बिक्री गर्ने भएको छ । सहकारीले पूर्वउत्तरी क्षेत्र स्वामीकार्तिक खापर गाउँपालिकाबाट ए ग्रेडको प्रतिकेजी रु २५, बी ग्रेडको रु २० र सी ग्रेडको रु १५ प्रतिकेजीका दरले खरीद गर्ने गरेको छ । त्यस्तै बूढीनन्दा नगरपालिकाको पाण्डुसेनबाट ए ग्रेडको प्रतिकेजी रु ५५, बी ग्रेडको रु ५० र सी ग्रेडको रु ४५ मा खरीद गरेर ढुवानी भएको छ । पाण्डुसैन पुग्न सदरमुकाम मार्तडीबाट करीब ३१ किलोमिटर दूरीमा रहेको छ भने स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँ पुग्न करीब दुई दिन लाग्ने गर्दछ । सदरमुकाम मार्तडीमा भने प्रतिकेजी स्याउको मूल्य रु १५० देखि १८० सम्म रहेको छ । बारीमा स्याउ टन्न फलेको छ, बजार टाढा छ । बारीमा कुहिने अवस्था थियो, तर थोरै भए पनि सरकारले यस वर्ष ढुवानी अनुदान दिएपछि पहिलोपटक बाजुराको स्याउ जिल्ला बाहिर जाँदा निकै खुशी भएको स्थानीयवासी शिक्षक गोविन्दबहादुर शाहीले खुशी व्यक्त गर्नुभयो । स्याउको मुख्य भण्डारका रुपमा चिनिँदै आएको जिल्लाका पाण्डुसैन, कोल्टी, जुकोट, जगग्ननाथ, कोटिलालगायतका ठाउँमा स्याउ राम्रोसँग फलेको छ । जसरी स्याउ फले पनि त्यसरी बजार भने पाउन नसकेको किसानले दुःखेसो पोखेका छन् । स्याउकै हाँगा भाँच्चिने गरी फल लागेको भए पनि बिक्री नहुँदा स्याउ किसान भैँसीलाई कुँडो खुवाउन बाध्य हुने गरेको जुकोटका उत्तम शाहीको भनाइ छ । यस वर्ष भने थोरै भए पनि आफ्नै बारीबाट स्याउ ढुवानी भएपछि किसानलाई राहत भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । बाजुरामा हाल २३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क छ । जिल्लामा स्याउ एक हजार ५० मेट्रिक टन उत्पादन हुने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो । यो वर्ष जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । यो क्षेत्रमा खाद्यान्न सङ्कट हुने गरेको छ । वर्षभरि काम गरेर खेतको उत्पादनले तीन महीना पनि खान पुग्दैन, बाँकी समय बाहिरको खाद्यान्नमाथि निर्भर बन्नुपर्ने बाध्यता रहेको छ । गाउँसम्म सडकको पहुँच नभएकाले बाजुराका स्याले बजार पाउन सकेका छैनन् ।
Categorized in राष्ट्रिय