STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा, घरको जग, भाँडाका टुक्रा फेला पारेपछि विभागसँग सम्पदा संरक्षणको आग्रह गर्दै आएका थिए । 
गत चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, मानाङ्क, घरको जग, भाँडाका टुक्रा फेलापरेको स्थानीय श्रीकृष्ण धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचखालमा तत्कालीन राजा मानदेव र अंशुवर्माको दरबार तथा रानीपोखरी लगायतका संरचना थिए । “बूढापाकाले पाँचखाल ऐतिहासिक स्थान भन्नु र खेतबारी खनजोत गर्दा पुराना सामग्री भेटिनुले यहाँको सम्पदा जोगाउन पुरातत्व विभागसँग आग्रह गरेका हौँ ।”
पुरातत्व विभागका उत्खनन शाखा प्रमुख रामबहादुर कुँवरले यही महीनाबाट पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन शुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री भेटिएका छन्, जो लिच्छवीकालीन नै हुन्, स्थानीयको माग तथा विज्ञको सुझावअनुसार हामी यही महिनाबाट थप अध्ययन एवं उत्खनन कार्य सुरु गर्नेछौँ ।” उहाँका अनुसार उक्त स्थानमा थप अध्ययन एवं उत्खनन गर्ने विज्ञ टोली तथा कागजात व्यवस्थापन गरिँदैछ । 
विभागले गत चैत अन्तिम साता उत्खनन विज्ञ उद्धव आचार्यसहितको एक टोलीले पाँचखालमा भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो । आचार्यले भन्नुभयो, “जति ऐतिहासिक प्रमाण भेटिएका छन्, ती लिच्छवीकालीन हुन्, हामीले विभागलाई पाँचखालका सम्पदा थप अध्ययन एवं उत्खनन गर्न सुझाव दिएका छौँ ।” उहाँका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् । 
पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा थिए र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको भन्ने कुरा बूढापाकाले गर्दै आएको स्थानीय सूर्यप्रसाद भेटवालले बताउनुभयो । उहाँले हाल खेतका गरा खन्ने क्रममा २६ इञ्चको पूरानो गारो समेत भेटिएको जानकारी दिनुभयो । 
भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । भोगिनी पाली भाषा रहेको विज्ञ आचार्यले बताउनुभयो । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले खेतीपाती गर्दै आएका छन् ।  स्थानीयले पाँचखाल क्षेत्रमा ऐतिहासिक सम्पदा सुरक्षाको ध्यानाकर्षण गराउन नगरपालिका प्रमुख महेश खरेललाई भेटिएको सिक्का तथा सामग्री हस्तान्तरण गरेका छन् । खरेलले सरोकारवाला निकायसँग समन्वय गरी सम्पदा संरक्षणमा लाग्ने बताउनुभयो । 
Categorized in राष्ट्रिय